
दाङ : वर्षात्को पानी सङ्कलन गरी निर्माण गरिएको कृत्रिम जलाशयले दाङको घोराही उपमहानगरपालिका–१७ ढिकपुर र ओखरा गाउँमा भूमिगत पानीको पुनर्भरणमा सहयोग पुर्याएको छ ।
जलाशयमा वर्षात्को पानी सङ्कलन भएर जमिनमा पानी सोसिने प्रक्रियाले भूमिगत जलस्रोतको संरक्षणमा योगदान पुर्याएको छ भने जलाशयकै पानीबाट वर्षभरि सिँचाइ सुविधा उपलब्ध भएपछि स्थानीय किसानको कृषि प्रणाली र जीविकोपार्जनमा समेत परिवर्तन आएको छ ।
घोराही उपमहानगरपालिकाले २०७५ सालमा निर्माण गरेको करिब चार बिघा क्षेत्रफलको कृत्रिम जलाशय अहिले स्थानीय जलस्रोत संरक्षण र कृषि उत्पादन वृद्धिको आधार बनेको छ । जलाशयमा सङ्कलित पानीले भूमिगत पानीको पुनर्भरणमा सहयोग गर्नुका साथै आसपासका खेतबारीमा सिँचाइ सुविधा उपलब्ध गराएको छ ।
जलाशयबाट ढिकपुर र ओखरा गाउँका करिब ७५ घरधुरी किसान प्रत्यक्ष लाभान्वित भएका छन् । यहाँका करिब ६० बिघा जमिनमा बाह्रै महिना सिँचाइ सुविधा पुगेको छ । पहिले आकाशे पानीको भरमा खेती गर्दै आएका किसान अहिले मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेतीमा संलग्न हुन थालेका छन् ।
सिँचाइ सुविधा उपलब्ध भएपछि किसानले काउली, बन्दागोभी, बोडी, करेला, भिन्डी, काँक्रा, लौका, आलु, गोलभेँडा र खुर्सानीलगायतका तरकारी उत्पादन गर्दै आएका छन् । वर्षभरि खेती गर्न पाउने भएपछि परम्परागत धान खेतीमा निर्भर रहेका किसानका लागि तरकारी खेती मुख्य आम्दानीको स्रोत बनेको छ ।
जलाशय समितिका कोषाध्यक्ष भीमबहादुर चौधरीले कृत्रिम जलाशयले पानी सङ्कलन, सिँचाइ र कृषि उत्पादन वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले यहाँका किसान परम्परागत खेतीमा निर्भर थिए ।
सिँचाइको सुविधा नहुँदा खेतीपातीका लागि आकाशे पानीको भर पर्नुपर्ने अवस्था थियो । अहिले बाह्रै महिना सिँचाइ हुन थालेपछि किसानले व्यावसायिक तरकारी खेती गरिरहेका छन् । यहाँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारी खेती बनेको छ ।”
जलाशयको उपयोग सिँचाइमा मात्र सीमित छैन । स्थानीयले जलाशयमा माछापालनसमेत गर्दै आएका छन् । सिँचाइका लागि सङ्कलन गरिएको पानीमा माछापालन सुरु भएपछि जलाशय स्थानीयका लागि आम्दानीको थप माध्यम बनेको छ ।
चौधरीका अनुसार गत वर्ष सात वर्षअघि जलाशयमा छाडिएका माछा निकालेर बिक्री गर्दा १८ लाख रुपियाँ कुल कारोबार भएको थियो । माछा निकाल्ने, बिक्री गर्ने तथा अन्य खर्च कटाउँदा १६ लाख रुपियाँ बचत भएको थियो । प्रतिकिलो ३०० रुपियाँका दरले बिक्री गर्दा करिब छ हजार किलो माछा बिक्री भएको उहाँले जानकारी दिनुभयो ।
जलाशयमा हुर्किएका केही माछा १२ किलोसम्मका थिए । यस वर्ष पनि जलाशयमा विभिन्न प्रजातिका ४५ हजार माछाका भुरा राखिएको उहाँले बताउनुभयो । माछापालनलाई निरन्तरता दिँदै जलाशयबाट थप आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
वर्षात्को पानी सङ्कलन गरी भूमिगत जलस्रोतको पुनर्भरणमा सहयोग पुर्याउने उद्देश्यसहित निर्माण गरिएको जलाशय अहिले स्थानीयका लागि बहुउपयोगी संरचना बनेको छ ।
यसले एकातिर पानीको स्रोत संरक्षणमा योगदान पुर्याएको छ भने अर्कोतिर सिँचाइ र माछापालन मार्फत कृषि उत्पादन तथा स्थानीयको आम्दानी बढाउन सहयोग गरेको छ ।


63 पटक हेरिएको 

