जल, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौ : काठमाडौमा भोलि देखि हुन गइरहेको जल, वातावरण र जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनका अध्यक्ष रामद्धीप शाहले सम्मेलनको तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा २० देशका खानेपानी, वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा क्रियाशील ५०० विज्ञ, अनुसन्धानकर्ता, प्राज्ञ, व्यवसायी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ ।

सोफेनले आइतबार गरेको पत्रकार सम्मेलनमा सोफेनका अध्यक्ष साहले बढ्दो जनसंख्याका कारण भइरहेको वन विनास र औद्योगीकरणको प्रभावले वायुमण्डलमा थपिँदै गएको कार्बन मनोअक्साइड, कार्बनडाईअक्साइड लगायत हरितगृह ग्यासको प्रभावले पृथ्वीको वायुमण्डल भित्रको तापक्रम बढेको बेला सम्मेलन गर्न लागिएको बताउनुभयो । “विश्वव्यापी तापक्रम वृद्धिले जलवायुमा परिवर्तनबाट हिमाली क्षेत्रमा हिउँ पग्लने दर बढेको छ” उहाँले भन्नुभयो ।

 

अध्यक्ष साहले संसारमा धेरै कुराको विकल्प देखिएको तर पानीको विकल्प नभएको स्पष्ट पार्नुभयो । स्वच्छ पानीको स्रोतलाई जोगाउने, पानीलाई मानव समाजको समुन्नतिमा उपयोग गर्ने, पानीका माध्यमबाट वातावरण संरक्षणमा योगदान पु¥याउने उद्देश्य राखेर सम्मेलन गर्न लागेको हो ।

सम्मेलन जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागले संयुक्त रुपमा आयोजना गरेको हो ।

यही चैत२९ गते सम्म हुने अन्तर्राष्ट्रिय सम्मेलनलाई जलवायु परिवर्तनको उच्च जोखिममा रहेको नेपालको लागि अति सान्दर्भिक हुने अपेक्षा गरिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार