सरसफाइको मुद्दामा राजनीतिक तथा प्रशासनिक नेतृत्व एकै मञ्चमा उभिनु महत्वपूर्ण : UN-Habitat WASH टोली प्रमुख पिरेह

  वास खबर समाचारदाता  126 पटक हेरिएको
🔗
173
Shares

काठमाडौं  : संयुक्त राष्ट्रसंघीय मानव बसोबास कार्यक्रम (यूएन–ह्याबिट्याट) का खानेपानी तथा सरसफाइ टोली प्रमुख हेजेकिया ओटिएनो पिरेह (Hezekiah Otieno Pireh) ले सरसफाइ जस्तो महत्त्वपूर्ण तर राजनीतिक नेतृत्वले कम प्राथमिकता दिने विषयमा राष्ट्रिय तथा स्थानीय तहका जनप्रतिनिधि र उच्च सरकारी अधिकारीहरू एकै मञ्चमा उभिएर छलफल तथा पैरवी गर्नु नेपालका लागि सकारात्मक उपलब्धि भएको बताउनुभएको छ।

CWIS राष्ट्रिय सिकाइ सम्मेलन २०२६ मा बोल्दै उहाँले सरसफाइलाई राजनीतिक नेतृत्वले प्राथमिकतामा राख्नु सबैका लागि सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवा सुनिश्चित गर्ने दिशामा महत्त्वपूर्ण रहेको बताउनुभयो।

उहाँले नेपालमा सञ्चालित छ वर्षे सहरव्यापी समावेशी सरसफाइ (Citywide Inclusive Sanitation) कार्यक्रम आगामी डिसेम्बरमा सम्पन्न हुन लागेको जानकारी दिँदै कार्यक्रमबाट प्राप्त उपलब्धिलाई कसरी विस्तार गर्ने भन्ने विषयमा सकारात्मक पहल अघि बढिरहेको बताउनुभयो।

उहाँका अनुसार सन् २०२० मा गेट्स फाउन्डेसनसँगको छलफलपछि नेपाल र केन्यालाई देशगत अध्ययनका रूपमा समेटेर सहरव्यापी समावेशी सरसफाइको विश्वव्यापी कार्यक्रम सुरु गर्ने अवधारणा अघि बढाइएको थियो। श्रीलंकामा आयोजित अन्तर्राष्ट्रिय पानी संघ (IWA) को सम्मेलनका क्रममा डा. रोशनको निमन्त्रणामा भएको छलफलले यस कार्यक्रमको सुरुवातका लागि आधार तयार गरेको उहाँले स्मरण गर्नुभयो।

गेट्स फाउन्डेसनको सहयोग र प्रतिबद्धताको प्रशंसा

पिरेहले कार्यक्रम सञ्चालनमा गेट्स फाउन्डेसनले गरेको आर्थिक सहयोग र संस्थागत प्रतिबद्धताको प्रशंसा गर्नुभयो। फाउन्डेसनले कार्यक्रमका गतिविधिका लागि अनुदान उपलब्ध गराउनुका साथै पछिल्ला चार वर्षदेखि यूएन–ह्याबिट्याटमा चार जना कर्मचारीलाई सहरव्यापी समावेशी सरसफाइ कार्यक्रममै समर्पित भएर काम गर्ने व्यवस्था मिलाएको उहाँले बताउनुभयो।

विकास साझेदारहरूले सामान्यतया कार्यक्रमका गतिविधिमा मात्र सहयोग गर्ने गरेको अवस्थामा जनशक्ति व्यवस्थापनमै समेत सहयोग गर्नु महत्त्वपूर्ण भएको उहाँको भनाइ थियो।

उहाँले गेट्स फाउन्डेसनका पूर्व उपनिर्देशक तथा विश्व शौचालय संगठनका अध्यक्ष प्राध्यापक डा. रोशनको विशेष प्रशंसा गर्दै नेपालमा सरसफाइ क्षेत्रको विकासका लागि उहाँको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो।

डा. रोशनसँगको मित्रता र सहकार्यकै कारण यूएन–ह्याबिट्याट र गेट्स फाउन्डेसन बीच बलियो सम्बन्ध स्थापित भएको र त्यसले नेपाललाई निरन्तर सहयोग प्राप्त गर्न सहज बनाएको उहाँले उल्लेख गर्नुभयो।

खुला दिसामुक्त अभियानदेखि सहरव्यापी समावेशी सरसफाइसम्म

पिरेहले यूएन–ह्याबिट्याट र नेपाल सरकार बीचको सहकार्य दुई दशक लामो रहेको स्मरण गर्नुभयो। सन् २००५ मा सुरु भएको ‘वाटर फर एसियन सिटिज’ कार्यक्रम मार्फत सहकार्य अघि बढेको उहाँले बताउनुभयो। उक्त कार्यक्रमको मुख्य उद्देश्य सहस्राब्दी विकास लक्ष्य (MDG) हासिल गर्न सरकारलाई सहयोग गर्नु, विपन्न समुदायलाई लक्षित खानेपानी तथा सरसफाइमा लगानी बढाउनु र स्थानीय सरकारको क्षमता अभिवृद्धि गर्नु रहेको थियो।

त्यसपछि राष्ट्रिय खुला दिसामुक्त अभियानअन्तर्गत ग्लोबल स्यानिटेसन फन्ड (GSF) मार्फत यूएन–ह्याबिट्याटले नेपाल सरकारसँग करिब १० वर्ष सहकार्य गरेको उहाँले जानकारी दिनुभयो। सन् २०१९ मा नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिनु यस सहकार्यको महत्त्वपूर्ण उपलब्धि भएको उहाँले बताउनुभयो।

खुला दिसामुक्त घोषणाले सरसफाइ क्षेत्रको अर्को चरण अर्थात् सहरव्यापी समावेशी सरसफाइ कार्यक्रमका लागि आधार तयार गरेको उहाँको भनाइ थियो।

सहरव्यापी समावेशी सरसफाइ भन्नाले सहरमा मात्र सरसफाइ सेवा विस्तार गर्नु नभई देशभरका सबै समुदाय र बस्तीमा सुरक्षित सरसफाइ सेवा सुनिश्चित गर्नु रहेको उहाँले स्पष्ट पार्नुभयो। काठमाडौंलाई मात्र नेपालका रूपमा हेर्न नहुने उल्लेख गर्दै उहाँले सरसफाइ राष्ट्रिय प्राथमिकताको विषय भएको बताउनुभयो।

उहाँले खानेपानी तथा सरसफाइ क्षेत्रको राष्ट्रिय नीति तथा नियमन प्रणाली सुदृढीकरणलाई नेपालमा यूएन–ह्याबिट्याटको सहकार्यबाट हासिल भएको महत्त्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो। नीतिगत तथा संस्थागत सुधारले आगामी कार्यक्रम र सरसफाइ सेवाको दिगो विस्तारका लागि आधार तयार गर्ने उहाँको भनाइ थियो।

नीतिगत उपलब्धिलाई संस्थागत गर्दै विस्तारमा जोड

पिरेहले नेपाल सरकार, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सम्बन्धित मन्त्रालय, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, शैक्षिक संस्था, सञ्चारमाध्यम, नागरिक समाज तथा कार्यान्वयन साझेदारसँगको सहकार्यले कार्यक्रमलाई उपलब्धिमूलक बनाउन सहयोग पुगेको बताउनुभयो।

नेपालमा सुरु भएको CWIS एलायन्स जस्ता ज्ञान आदानप्रदानका संयन्त्र क्षेत्रीय तहमा समेत विस्तार हुँदै गएको उहाँले उल्लेख गर्नुभयो। यसले नेपालमा हासिल भएका अनुभव र सिकाइ अन्य देश तथा क्षेत्रमा समेत आदानप्रदान गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।

कार्यक्रमको अवधि सकिन लागे पनि सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सेवा सबैका लागि सुनिश्चित गर्ने अभियान नरोकिने उल्लेख गर्दै उहाँले अहिलेसम्म हासिल भएका उपलब्धिलाई संस्थागत गर्दै आगामी दिनमा थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो।

CWIS एलायन्स नेपाल, FSM नेटवर्क र NFSSM एलायन्सको सहकार्य तथा गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा यूएन–ह्याबिट्याटद्वारा आयोजित सम्मेलनमा उहाँले उक्त धारणा व्यक्त गर्नुभएको हो।

सम्मेलनमा पूर्वाधार विकास मन्त्रालयका सहसचिव, खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक, अन्य सरकारी अधिकारी, CWIS एलायन्सका सदस्य संस्थाका प्रमुख तथा प्रतिनिधि, FSM नेटवर्क बंगलादेश र NFSSM एलायन्स भारतका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो।

साथै, नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम नेपाल (Scalling of Citywide Inclusive Sanitation Service System program) सञ्चालन भएका सातवटै प्रदेशका सात नगरपालिका जनप्रतिनिधि तथा सरसफाइ शाखाका प्रमुख र प्रतिनिधि एवं सहरव्यापी समावेशी सरसफाइ क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो

।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार