फोहरलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्न आरुघाटमा ‘बेकारबाट आविष्कार’ तालिम

  वास खबर समाचारदाता  76 पटक हेरिएको
🔗
61
Shares

गोरखा : फालिएका प्लास्टिकजन्य फोहर तथा प्रयोगविहीन वस्तुबाट घरायसी र सजावटका सामग्री निर्माण गर्न सिकाउने उद्देश्यले गोरखाको आरुघाट गाउँपालिकामा ‘बेकारबाट आविष्कार’ तालिम सञ्चालन गरिएको छ।

शान्ति नेपालद्वारा सञ्चालित सामुदायिक रूपान्तरणका लागि स्वास्थ्य परियोजनाको आयोजनामा गाउँपालिका वडा नं. ८ स्थित दरबार माध्यमिक विद्यालय र वडा नं. ७ को सातदोबाटेमा छुट्टाछुट्टै तीनदिने तालिम सञ्चालन गरिएको हो।

तालिममा दरबार माध्यमिक विद्यालयका २० जना विद्यार्थी र वडा नं. ७ का १६ वटा टोल विकास संस्थाबाट प्रतिनिधित्व गर्ने २० जना सदस्य गरी ४० जनाको सहभागिता रहेको थियो।

तालिमका क्रममा विद्यालय परिसर तथा समुदायमा यत्रतत्र फालिएका प्लास्टिकजन्य फोहर, पुराना बोरा, बोतललगायत प्रयोगविहीन वस्तुलाई पुनः प्रयोग गरी उपयोगी सामग्री बनाउन सिकाइएको थियो।

विशेष गरी वडा नं. ७ मा घर तथा स्थानीय पसलबाट निस्कने प्लास्टिकजन्य फोहरबाट सजावटका सामग्री, डोरी, गमला, कुचो, झाडु, फूल तथा कलमदानी निर्माण गर्ने व्यावहारिक सीप प्रदान गरिएको थियो।

काम नलाग्ने ठानिएका वस्तुलाई सीप र प्रविधिको प्रयोगमार्फत मूल्यवान् सामग्रीमा रूपान्तरण गर्दै स्थानीयस्तरमै फोहर व्यवस्थापन गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको परियोजना व्यवस्थापक इन्द्रमान शाक्यले बताउनुभयो।

संस्थाले वडा नं. ७ र ८ मा सञ्चालन गर्दै आएको सफा तथा स्वच्छ गाउँ अभियानलाई दिगो बनाउन फोहर व्यवस्थापन महत्त्वपूर्ण रहेको जनाएको छ। तालिमले समुदायमा फोहरको उचित व्यवस्थापन र पुनः प्रयोगसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

तालिमका क्रममा सहभागीहरूले निर्माण गरेका सामग्री आरुघाट गाउँपालिकामा आयोजित शैक्षिक मेलामा समेत प्रदर्शनी गरिएको थियो। प्रदर्शनीले विद्यार्थीहरूको सिर्जनात्मक क्षमता उजागर गर्नुका साथै फोहरलाई उपयोगी सामग्रीमा रूपान्तरण गर्ने सीपको अभ्यासका लागि प्रोत्साहन मिलेको आयोजकले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार