
हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको नगर क्षेत्रमा स्वच्छ, सुरक्षित र दिगो खानेपानी सेवा विस्तार तथा व्यवस्थापनका लागि ३८ करोड ९१ लाख २७ हजार रुपैयाँ बराबरको सहलगानी खानेपानी आयोजना कार्यान्वयन हुने भएको छ। आयोजनाका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, भरतपुर, चितवनले बोलपत्र आह्वान गरेको छ।
नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मातहतमा रहेको कार्यालयले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिका सँगको सहकार्यमा आयोजना सञ्चालन गर्न लागेको हो।
सिमलटार, हटिया र रातोमाटे सहलगानी खानेपानी तथा सरसफाइ आयोजना (स्किम–२) अन्तर्गत हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा खानेपानीका स्रोत, प्रशोधन तथा भण्डारण संरचना निर्माण र वितरण प्रणाली विस्तार गरिनेछ।
आयोजना अन्तर्गत हेटौंडा वडा नं. १ मा दुईवटा समवेल, प्रशोधन केन्द्र (ट्रिटमेन्ट प्लान्ट) र ३०० घनमिटर क्षमताको भूमिगत पानी भण्डारण ट्यांकी निर्माण गरिनेछ। वडा नं. २ मा कार्यालय भवन निर्माण गर्ने योजना छ।
त्यसैगरी, वडा नं. ३ मा समवेल र २०० घनमिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माणसँगै १० किलोमिटर पाइपलाइन विस्तार गरिनेछ। वडा नं. ६ मा डिप ट्युबवेल, ३०० घनमिटर क्षमताको भूमिगत पानी ट्यांकी तथा चार किलोमिटर पाइपलाइन निर्माण हुनेछ।
वडा नं. ७ र १६ मा डिप ट्युबवेल तथा प्रतिवडा चार लाख ५० हजार लिटर क्षमताका ओभरहेड पानी ट्यांकी निर्माण गरिनेछ। वडा नं. १४ मा ३६ किलोमिटर पाइपलाइन विस्तार गर्ने योजना रहेको छ।
यसैगरी, वडा नं. १८ को हर्नामाडीमा डिप ट्युबवेल र ४०० घनमिटर क्षमताको भूमिगत पानी ट्यांकी निर्माण गरिनेछ। आरमपुर–भोर्ले क्षेत्रमा पनि डिप ट्युबवेल निर्माण तथा दुई किलोमिटर पाइपलाइन विस्तार गरिनेछ।
यी संरचनाका अतिरिक्त आयोजना अन्तर्गत आवश्यक अन्य पूर्वाधार निर्माण तथा विद्युतीकरणका काम समेत सञ्चालन गरिने हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले जनाएको छ।
आयोजना सम्पन्न भएपछि हेटौंडा उपमहानगरपालिकाका विभिन्न क्षेत्रमा खानेपानीको स्रोत, भण्डारण क्षमता र वितरण प्रणालीमा सुधार आउने बोर्डको अपेक्षा छ।


87 पटक हेरिएको 

