कोशीका ६८ स्थानीय तहमा वास प्लान निर्माणको तयारी, ९ स्थानीय तहका कर्मचारीलाई NWASH-MIS तालिम

  वास खबर सम्बाददाता  166 पटक हेरिएको
🔗
286
Shares

इटहरी : कोशी प्रदेशका बाँकी ६८ वटा स्थानीय तहमा चालु आर्थिक वर्ष २०८३/८४ भित्र खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना (WASH Plan) निर्माण गर्ने लक्ष्य सहित स्थानीय तहका कर्मचारीहरूको क्षमता अभिवृद्धि थालिएको छ। यसै क्रममा सुनसरी र मोरङका ९ वटा स्थानीय तहका वास फोकल व्यक्ति तथा सूचना प्रविधि अधिकृतहरूलाई NWASH-MIS मार्फत तथ्याङ्क संकलन, व्यवस्थापन र वास योजना तयारी सम्बन्धी तीन दिने तालिम दिईएको छ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, इटहरीको आयोजित तालिमको मुख्य उद्देश्य स्थानीय तहमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको विद्यमान अवस्था र आवश्यकता सम्बन्धी तथ्याङ्क व्यवस्थित रूपमा संकलन, विश्लेषण तथा अद्यावधिक गरी तथ्याङ्कमा आधारित वास योजना निर्माण गर्ने क्षमता विकास गर्नु रहेको थियो।

कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरीको समन्वयमा आयोजित तालिममा वासको अवधारणा, कानुनी व्यवस्था, दिगो विकास लक्ष्य (SDGs), संयुक्त अनुगमन कार्यक्रम (JMP) का सूचक, जलवायु उत्थानशील वास (CR-WASH) तथा लैङ्गिक समानता, अपाङ्गता र सामाजिक समावेशीकरण (GEDSI) लगायतका विषयमा छलफल गरिएको थियो।

त्यसैगरी, विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानमा खानेपानी, सरसफाइ र स्वच्छताको अवस्थाबारे तथ्याङ्क संकलन तथा व्यवस्थापन गर्ने विषयमा समेत सहजीकरण गरिएको थियो।

तालिममा NWASH-MIS ड्यासबोर्ड सञ्चालन, प्रयोगकर्ता सिर्जना, आयोजना दर्ता, मोबाइल एप्लिकेसन मार्फत घरधुरी तथा संस्थागत सर्वेक्षण, खानेपानी आयोजनाको सूचीकरण, तथ्याङ्क अपलोड, गुणस्तर परीक्षण, प्रमाणीकरण तथा अद्यावधिक गर्ने विषयमा सैद्धान्तिक र व्यावहारिक अभ्यास गराइएको थियो। सहभागीहरूलाई स्थलगत सर्वेक्षण तथा तथ्याङ्क संकलनको अभ्यास समेत गराइएको थियो।

तालिमको सहजीकरण मन्त्रालयका प्रादेशिक स्रोत व्यक्ति मिलन चौधरी र हरि बुढाथोकीले गर्नुभएको थियो। कार्यक्रममा मन्त्रालयका सिनियर इन्जिनियर लोजाङ देण्डुप शेर्पा र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, सुनसरीका प्रमुख विकास काफ्लेले प्रदेश तथा डिभिजन कार्यालयबाट खानेपानी र सरसफाइ क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रम तथा गतिविधिबारे जानकारी गराउनुभएको थियो।

तालिमबाट स्थानीय तहका कर्मचारीहरूको तथ्याङ्क संकलन तथा व्यवस्थापन सम्बन्धी प्राविधिक क्षमता अभिवृद्धि हुनुका साथै वास्तविक आवश्यकता पहिचान, योजना प्राथमिकता निर्धारण र बजेट तर्जुमामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यसले स्थानीय तहमा समावेशी, दिगो तथा जलवायु उत्थानशील वास योजना निर्माण र कार्यान्वयनका लागि तथ्याङ्कमा आधारित योजना प्रणाली विकास गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार