
सप्तरी : सप्तरीका अग्निसाइर कृष्णासवरन गाउँपालिका–४ मा निर्माणाधीन दिसाजन्य लेदो प्रशोधन केन्द्रको दिगो सञ्चालन र व्यवस्थापनका लागि सप्तरीका छ वटा स्थानीय तह बीच सहकार्य तथा समन्वयको पहल थालिएको छ। निर्माणाधीन प्रशोधन केन्द्रको अनुगमन गर्दै सञ्चालन मोडेल, अन्तरपालिका समन्वय र व्यवस्थापनका विषयमा सरोकारवाला बीच छलफल गरिएको छ।
दिसाजन्य लेदो प्रशोधन केन्द्र व्यवस्थापन समितिको आयोजनामा सम्पन्न अनुगमन तथा समन्वय बैठकमा सप्तरीका छ वटा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, जिल्ला समन्वय समिति सप्तरी र ऊर्जा, सिँचाइ तथा खानेपानी कार्यालयका इन्जिनियर प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकमा निर्माणाधीन प्रशोधन केन्द्रको भौतिक प्रगति, आगामी सञ्चालन योजना, व्यवस्थापन मोडेल, आर्थिक व्यवस्थापन तथा दीर्घकालीन दिगोपनाका विषयमा छलफल गरिएको थियो।
प्रशोधन केन्द्र निर्माणमा Welthungerhilfe (WHH) र महुली सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित WASH परियोजनाले आर्थिक तथा प्राविधिक सहयोग गरेको व्यवस्थापन समितिका संयोजक तेजनारायण यादवले जानकारी गराउनुभयो।

महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले निर्माण सम्पन्न भएपछि प्रशोधन केन्द्रको प्रभावकारी सञ्चालन र उपयुक्त व्यवस्थापन मोडेल छनोटलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। केन्द्रको दीर्घकालीन सञ्चालन सुनिश्चित गर्न सम्बन्धित स्थानीय तह र सरोकारवाला बीच सहकार्य तथा साझा जिम्मेवारी आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यसैगरी, परियोजना संयोजक चन्द्र नारायण चौधरीले वालिङ नगरपालिका र बुटवलमा सञ्चालनमा रहेका प्रशोधन तथा सरसफाइ केन्द्रहरूको सञ्चालन विधि, व्यवस्थापन प्रक्रिया र सिकाइबारे सहभागीहरूलाई जानकारी गराउनुभयो। ती केन्द्रका अनुभवबाट सिकेर सप्तरीमा निर्माणाधीन प्रशोधन केन्द्रलाई पनि प्रभावकारी रूपमा सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो।
सप्तकोशी नगरपालिकाका नगर प्रमुख कृष्ण ढकालले प्रशोधन केन्द्रको दिगो सञ्चालनका लागि छ वटा स्थानीय तहको सहभागितामा अन्तरपालिका समन्वय समिति गठन गरी साझा जिम्मेवारीका आधारमा सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो।

बैठकमा सहभागी स्थानीय तह, जिल्ला समन्वय समिति तथा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले प्रशोधन केन्द्रलाई क्षेत्रीय साझा सरसफाइ संरचनाका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। केन्द्रको सञ्चालन मोडेल, संस्थागत जिम्मेवारी, आर्थिक व्यवस्थापन र अन्तरपालिका समन्वयका विषयमा समेत छलफल भएको थियो।
निर्माणाधीन प्रशोधन केन्द्रको अवस्था बारे सरोकारवालालाई जानकारी गराउने, स्थानीय तहबीच सहकार्य अभिवृद्धि गर्ने र आगामी सञ्चालन तथा व्यवस्थापनका लागि साझा समझदारी निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको महुली सामुदायिक विकास केन्द्रका इन्जिनियर तथा परियोजना प्राविधिक अधिकृत ओमप्रकाश पण्डितले जानकारी दिनुभयो।
कार्यक्रममा अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, सप्तकोशी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, कञ्चनरूप नगरपालिकाका नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत, रुपनी र राजविराज नगरपालिकाका प्रतिनिधि, शम्भुनाथ नगरपालिकाका नगर प्रमुख, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख तथा ऊर्जा, सिँचाइ तथा खानेपानी कार्यालयका इन्जिनियर लगायतको उपस्थिति रहेको थियो।



56 पटक हेरिएको 

