गजरकोटमा पानीको दुःख : घाम लागे पिउन पायो, नलागे खोला धायो

तनहुँ २९ फागुन । तनहुँको गजरकोटका बासिन्दाले टलक्क घाम लाग्यो भने पानी पिउन पाउँछन् होइन भने खोला धाउनुको विकल्प छैन । ‘घाम लागे सोलार  तातिन्छ र व्याट्रि चार्ज भएर पानी तान्न पाइन्छ, घाम नलागे व्याट्रि चार्ज हुन पाउदैन र पानी तान्न पनि पाइदैन’ गजरकोट बराहथान खानेपानी आयोजनाका अध्यक्ष चेतनारायण श्रेष्ठले भन्नुभयो ।

नजिकमा पानीको मुहान नहुँदा गजरकोटका बासिन्दाले सौर्य ऊर्जाबाट तानेको पानीले दैनिकी चलाउदै आएका छन् । गाउँबाट एक किलोमिटर परको बराहथान भन्ने मुहानबाट सौर्य ऊर्जाले तानेको पानी वितरण गरिरहेको र मुहान सुक्दै गएका दिन विराएर मात्र वितरण गरिरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

सोलार व्याट्रि चार्ज गर्न नपाएको समयमा एकघण्टा पैदल दुरीमा रहेको पञ्चकन्या र धर्सेल्दी खोलामा पुग्नुपर्ने बाध्यता छ ।

पानीको अभावमा बसाइ

पानीको अभावमै गजरकोटमा यसबर्ष मात्र विक टोलका दुई घर र श्रेष्ठ टोलका ५ घर बसाइ गएका छन् । अहिले विक टोलमा ३३ घर र बराहथान टोलमा २५ घरले सोलारबाट लिफ्टिङ गरेको पानी उपभोग गरिरहेका छन् ।

गजरकोटमा पानीको समस्याबारे जिल्ला विकास समितिमा समेत चर्चा हुने गरेपनि सानो खर्चले नभ्याउने भएकाले समस्या समाधान हुन नसकेको जिल्ला प्राविधिक कार्यालयका सब–इन्जिनियर भीमलाल सुवेदीले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार