सरसफाइ सप्ताह समापनमा झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा

  विनोद धौलागिरि  1950 पटक हेरिएको

बाह्रदशी (झापा) : सरसफाइ सप्ताहको समापनको अवसरमा झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ । ७ हजार ९ सय ७२ घरधुरी रहेको बाह्रदशी गाउँपालिकामा अभियानअघि ४ हजार ९ सय ३३ घरधुरीमा सुरक्षित चर्पी रहेकोमा खुल्ला दिसामुक्त अभियानको क्रममा ३ हजार ३९ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरेपश्चात् खुल्ला दिसामुक्त घोषणा गरिएको हो ।

 

साविकका तीन गाविस मिलेर बनेको बाह्रदशी गाउँपालिकामा पर्ने चकचकी यसअघि नै खुल्ला दिसामुक्त भएको थियो । बाँकी राजगढ र डाँगिबारीसहित बाह्रदशी गाउँपालिकालाई नै सोमबार खुल्ला दिसामुक्त घोषणा गरिएको हो । खुल्ला दिसामुक्त हुने यो झापाको छैठौं स्थानीय तह हो ।

 

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले कार्यक्रमको उद्घाटन गर्नुका साथै समितिको तर्फबाट गाउँपालिकालाई खुल्ला दिसामुक्तको प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खुल्ला दिसामुक्तको प्रतीक हरियो झण्डा फहराउनुका साथै गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशीलाई हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथि पोर्तेलले राजमार्ग दक्षिणमा पर्ने, विपन्न र पछाडि पारिएका समुदायको घना बसोबास रहेको बाह्रदशीले सुगम नगरपालिकाहरुलाई चुनौति दिएको बताउनुभयो । “नेपालको पूर्वी प्रवेशद्वार मेचीनगर, तीव्र सहरीकरण भैरहेको र व्यापारिक केन्द्रको रुपमा रहेको विर्तामोड, नेपालकै पुरानो नगरपालिकासमेत रहेको सदरमुकाम भद्रपुर, मुलुककै अर्थमन्त्री एवम् प्रदेश गृहमन्त्रीको गृहनगर गौरादह र प्रधानमन्त्रीको गृहनगर दमकलाई बाह्रदशीले छिटो खुल्ला दिसामुक्त घोषणा गरेर देखाउन चुनौति दिएको छ”, उहाँले भन्नुभयो, “सरसफाइमा कुनै जाति, वर्ग, धर्म, सम्प्रदायविशेष पछाडि हुन्छन् भन्ने मानसिकतामा परिवर्तन ल्याउनुपर्छ भन्ने सन्देश आजको घोषणाले दिएको छ ।”

 

 

प्रमुख जिल्ला अधिकारी दाहालले समृद्ध समाजका लागि प्रत्येक व्यक्तिले सरसफाइसम्बन्धी आनिवानीमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसी कुमार नेपालले राज्यले पारित गरेका नीतिनियम, तयार गरेको प्रावधान र गरेका घोषणा एवम् प्रतिवद्धतालाई पूरा गर्न सहयोग गर्नु सम्पूर्ण स्थानीय तह र नागरिकको दायित्व भएको उल्लेख गर्नुभयो । गाउँपालिकाले राष्ट्रिय पूर्ण सरसफाइ मार्गदर्शनबमोजिम पूर्ण सरसफाइ कार्ययोजना तयार गर्ने, वातावरण तथा सरसफाइ कार्यविधि जारी गर्ने र गाउँपालिकाभित्र विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७४ लाई पूर्ण रुपमा कार्यान्वयनमा लैजाने समेत जानकारी दिनुभयो ।


गाउँपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रत्नाकुमारी राजवंशीले सरसफाइ प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने राजनीतिक दलहरुको तर्फबाट जनकराज दाहाल र सहजीकरण गर्ने संस्था सहारा नेपालका सहसचिव एल.बी. गिरीले सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो ।

घोषणा समारोहमा खुल्ला दिसामुक्त अभियानमा सहयोग गर्ने व्यक्ति, संघसंस्था तथा निकायहरुलाई गाउँपालिकाको तर्फबाट कदरपत्र प्रदान गरिएको थियो । सो अवसरमा कलाकारहरुले सरसफाइ गीत र नृत्य प्रस्तुत गरेका थिए ।

 

 

बाह्रदशी गाउँपालिकामा गाभिएको चकचकीमा ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिको सहयोग र राजगढ तथा डाँगिबारीमा ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमको सहयोगमा सहारा नेपालले खुल्ला दिसामुक्त अभियान सहजीकरण गरेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार