काठमाडौं : घरको डिजाइन गर्दा आकाशे पानी संकलन गर्ने प्रविधिलाई कसरी समावेश गर्न सकिन्छ भन्ने विषयमा विभिन्न क्याम्पसबाट सिविल इन्जिनियरिङ र आर्किटेक्चर इन्जिनियरिङ गरिरहेका विद्यार्थीहरुसँग छलफल गरिएको छ ।

विगत १८ बर्षदेखि नेपालमा वातावरण, आकाशेपानी संकलन, समावेशी तथा लैगिंकमैत्री सार्वजनिक शौचालय र दिसाजन्य लेदो तथा फोहोर व्यस्थापनको क्षेत्रमा काम गर्दै आएको गुठी संस्थाले छलफल गरेको हो । घरको डिजाइनमै पानी संकलन गर्ने प्रविधिलाई समावेश गर्न सके पानीको समस्याबाट छुटकारा पाउने र सम्बन्धित घरधनीले समेत आकाशे पानी संकलनकै लागि भनेर अतिरिक्त खर्च व्यहोर्नु नपर्ने भएकाले आकाशे पानी संकलनको विषयमा भविश्यका इन्जिनियरहरुसँग छलफल गरेको गुठीका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले जानकारी दिनुभयो ।

कार्यक्रममा पूर्व वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले घरको डिजाइन गर्दा घरको धारा, शौचालय, बाथरुममा समेत कम पानी खपत हुने तरिकाले डिजाइन गर्नुपर्ने चुनौती थपिएको बताउनुभयो । उहाँले घर बनाउँदा समेत कसरी कम पानी खपत गरेर बनाउन सकिन्छ भन्ने जुक्ति अपनाउन पनि आग्रह गर्नुभयो ।
प्रकृतिले सित्तैमा दिएको पानी अहिलेसम्म नजानेर ढलमा बगाइरहेको र अब घरको नक्शा बनाउँदा नै आकाशे पानी संकलनको संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । ‘अब घरको नक्शा बनाउँदा फोहोर पानी प्रशोधन गर्ने, आकाशे पानी संकलन गर्ने, कम पानीको उपयोग हुने जस्ता विधिलाई अनिवार्य समावेश गराउनुपर्छ’ उहाँले भन्नुभयो ।
आकाशे पानी संकलन गर्ने संरचना समावेश गरे नक्सा पासमै छुट
आकाशेपानी संकलन गर्ने सहितको संरचना तयार पारी नक्सा बनाएमा काठमाडौ महानगरपालिका, लेखनाथ पोखरा नगरपालिका र धरान उपमहानगरपालिकाले नक्सा पासमा छुट दिन थालेको छ । काठमाडौ महानगरपालिका र लेखनाथ पोखरा महानगरपालिकाले नक्सा पासमा १०र१० प्रतिशत र धरान उपमहानगरपालिकाले ५० प्रतिशत छुट उपलब्ध गराउने नियम बनाएको छ ।
तर अहिलेसम्म यस्तो संरचना समावेश गरेर छुट लिएको घरधनी रेकर्ड नरहेको गुठीका प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिनुभयो ।

आकाशे पानी संकलन किन ?
आकाशको पानी संकलन गरेर विभिन्न काममा उपयोग गर्न सकिन्छ । आकाशेपानी संकलनबाट निम्न फाइदाहरु लिन सकिन्छ ।
बाढी घटाउने : आकाशे पानी संकलन नगर्दा घरको छानाबाट सडक तथा गल्लीमा पसेर ठूलो बाढीको रुप लिन सक्छ । तर आकाशे पानीलाई संकलन गरेर उपयोग गरे त्यस्तो सम्भावना कम हुन्छ ।
पानीको आपूर्ति : आकाशे पानी संकलन गरी कपडा धुने, नुहाउने, शौचालय प्रयोग गर्ने लगायतको काममा प्रयोग गर्न सकिन्छ । यसले पानी आपूर्तिमा हुने खर्च जोगिनका साथै घरैमा सहजै उपलब्धताको सुनिश्चितता प्रदान गर्छ ।
आपतकालीन अवस्थामा प्रयोग : आकाशेपानी संकलन नगरेको घरमा पर्याप्त पानीको भण्डारण नहुन सक्छ । तर आकाशेपानी संकलन गर्दा ट्यांकीमा पर्याप्त पानी जम्मा भइराख्ने भएकाले आगलागी जस्ता घटना भएमा आपतकालीन अवस्थामा प्रयोग गरी सम्भावित दुर्घटना बाट बच्न सकिन्छ ।
पुनःभरण : आकाशे पानीलाई सीधै ढल वा पाइप मार्फत खोलामा पठाउँदा जमिनमुनि छिर्न पाउँदैन । जसका कारण जमिनमुनिको पानीको सतह भासिदै गएको छ । आकाशेपानी संकलन गर्दा भएभरको पानी ट्याङ्कीमा मात्र संकलन गरिदैन । ट्याङकी भरिएर बगेर जाने पानी जमिनमुनि छिर्ने भएकाले यसले पुनःभरणको समेत काम गर्दछ ।
छलफलमा सहभागी विद्यार्थीले आफूहरुले भविश्यमा डिजाइन गर्ने घरमा आकाशे पानी संकलन गर्ने प्रविधिलाई पनि अनिवार्य समावेश गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । छलफलमा विभिन्न क्याम्पसका ३० जना भन्दा बढीको सहभागिता थियो ।



2877 पटक हेरिएको 

