मेलम्चीको पानी दशैं अघि नै काठमाडौमा : खानेपानीमन्त्री मगर

काठमाडौ : खानेपानीमन्त्री बिना मगरले मेलम्चीको पानी दशैं अगावै काठमाडौमा ल्याईसक्ने प्रतिबद्धता दोहोर्याउनुभएको छ । खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मगरले यसपटक इटालियन ठेकेदार कम्पनी सीएमसी दि रेभेनाको उच्चस्तरीय टोली, एसियाली विकास बैंक तथा परामर्श दाता र मन्त्रालय बीच दशै अगावै काठमाडौमा मेलम्चीको पानी ल्याइसक्ने समझदारी भइसकेकाले सेप्टेम्बर ३० भित्र सुन्दरीजलमा खानेपानी ल्याईसक्ने दाबी गर्नुभयो ।

ठेकेदार कम्पनी सिएमसीले तोकिए बमोजिम काम नगरेपछि खानेपानी मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा इटालीमा रहेको उच्च व्यवस्थापनलाई पत्राचार गरेपछि कम्पनीका बोर्ड अफ डाइरेक्टर मिस्टर पाउलो नेतृत्वको उच्चस्तरीय टोली नेपाल आएको थियो ।

‘मेलम्ची ठ्याक्कै कहिले आउँछ ? हरेक पटक फेरिने मन्त्रीले म्याद सार्दै लैजानुभएको छ ?’ पत्रकारले सोधेको जवाफ दिदै मन्त्री मगरले भन्नुभयो । ‘विगत जे जत्ति भयो भयो, अब विगतको जस्तो बथिति दोहोरिनु हुँदैन । मन्त्रालयको तर्फबाट गर्नुपर्ने जे जत्ति प्रयास हो, त्यो गरेका छौं, अब असोज अघि नै मेलम्चीको पानी काठमाडौका बासिन्दाले पिउन पाउनेछन् ।’ उहाँले मेलम्ची खानेपानी आयोजना कसैको लागि आशा र कसैको लागि तमाशा भईरहेको भन्दै राष्ट्रिय गौरवको आयोजना समयमै सकाउन आफू दत्तचित्त भएर लागिपरेको बताउनुभयो ।

सरकारले मेलम्चीको सुरुङ्ग निर्माण गर्न दिएको समयमा ठेकेदार कम्पनीले काम नसकेपछि बेला बेलामा म्याद थप गर्दै आएको छ । पछिल्लो पटक सरकारले अस्ति यही अगष्ट ३० सम्मका लागि म्याद थप गरेको छ ।

मन्त्रालयमा बेला बेलामा परिवर्तन भइरहने सचिव र मेलम्ची विकास समितिको कार्यकारी निर्देशकका विषयमा भने यो आन्तरिक विषय भएको र कामको सहजताका लागि कर्मचारीको व्यवस्थापन गरिएको बताउनुभयो ।

खानेपानी मन्त्रालयमा १० महिनाको बीचमा चार पटक सचिव फेरबदल भइसकेको छ भने बर्षदिनकै अवधिमा मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक पनि फेरिनुभएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार