महिला हिंसा कम गर्न चर्पीमा लगानी बढाऔं

  कल्पना कडारी, ओरेक नेपाल, धनुषा  2132 पटक हेरिएको

केही बर्ष पहिले इलाका प्रहरी कार्यालय ढल्केबर नजिकै एक बालिका बलात्कृत भईन् । मेलामा आएकी बालिका शौच गर्न जाँदा बलात्कृत भएको अनुसन्धानबाट खुल्न आयो र सबैको सक्रियताबाट अभियुक्तलाई पक्राउ गरी मुद्दा चलाईयो । अहिले अपराधी आफूले गरेको अपराध कर्मको परिणाम भोगिरहेका छन् भने पीडित बालिका सामाजिक जीवन यापन गरिरहेकी छिन् ।


मेलामा आउँदा बालिका बलात्कृत भएपछि त्यस यता ढल्केबरमा रातको समयमा मेला लगाउने चलनको अन्त्य भयो र केही सार्वजनिक शौचालय पनि बने । सम्भावित दुर्घटनालाई पहिले नै रोकथाम गर्नको साटो परिणाम भोगेपछि मात्र काम गर्ने हाम्रो पुरानै चलन हो ।

त्यसयता पनि तराई मधेसमा कति बालिकाहरुको इज्जत लुटियो त्यसको लेखाजोखा छैन । कति घटना सार्वजनिक हुन्छन् भने कतिपय घटना बाहिर ल्याउँदा बालिकाको भविश्य असुरक्षित हुने भयले भित्रभित्रै दबाइएका घटनाहरु पनि प्रशस्त छन् । ती बलात्कारका घटनाहरुमा चुरो कुरो खोतल्दै जाने हो भने कहीं कतै शौचालयको अभाव खड्किन्छ नै ।

तराई मधेसमा अहिले पनि आंशिक घुम्टो प्रथा कायमै छ । घरभन्दा अलि परबाट विहे गरेर ल्याउको छोरी चेलीले मुख देखाउनु हुँदैन भन्ने परम्परा अहिले पनि छ मधेसमा । त्यसैले उनीहरु दिसापिसाब लागेपनि घर बाहिर जान पाउँदैनन् । शौचालयको अभावमा साँझ परेपछि दिसापिसाब गर्न बाहिर निस्किंदा केही महिलाहरुको इज्जत लुटिएको घटना हामीले सुन्दै र देख्दै आएका छौं ।

यसबाट पनि थाहा पाउन सक्छौं, घरमा चर्पी हुँदा इज्जत संरक्षण हुन्छ । महिलाहरु हिंसाको शिकार हुनुपर्दैन । घरमै शौचालय भए जत्तिबेला पनि दिसापिसाब गर्न सक्छौं । शौचालय अभावमा घर बाहिर जाँदा हुने हिंसाको अन्त्य हुन्छ ।

हामीले घरमा चर्पी बनाएर चर्पीमा मात्र दिसापिसाब गराउन अर्थात महिला हिंसा कम गर्न चर्पीमा निक्कै लगानी गरेका छौं । लगानी पैसाको मात्र होइन, लगानी बलको मात्र होइन, लगानी चेतनाको बीउ रोपेका छौं, कतिलाई दण्डित गरेका छौं, त्यत्ति गर्दा पनि नहुने र बनाउने नसक्ने ठाउँमा हामी आफै गएर पनि चर्पी बनाईदिएका छौं ।

आज त सबैको घरघरमा चर्पी छ, दिसापिसाब गर्न बाहिर गईरहनु परेको छैन । चर्पी नहुँदा बालिका माथि यौन दुव्र्यवहार भयो रे, भन्ने पनि सुन्नु परेको छैन । तर घरमा चर्पी बनाएर प्रयोग गर्न लगाउने काम यत्ति चुनौतीपूर्ण थियो कि, ती दिनहरु सम्झिंदा मज्जा पनि लाग्छ, अत्यास पनि ।

हामी बिहान साढे चार बजे नै मानिसहरुले खुला ठाउँमा दिसा गर्ने सम्भावित ठाउँमा पुगिसकेका हुन्थ्यौं । अनि खुला ठाउँमा दिसा गर्नेहरुलाई प्रहरीको सहयोगमा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा ल्याउँथ्यौं ।

प्रहरीले पक्राउ गरी ल्याउने र सम्झाई बुझाई पठाउँदा पनि अटेर गर्न थालेपछि जरीवाना लिन थाल्यौं । यत्तिकै पैसा असुलेर पठाउँदा पैसा हिनामिनाको आरोप आउँला भनेर हामीले नगरपालिकाबाटै ठेली छपाएर जरिवाना लिएको रकमको बिल दिन थाल्यौं । पछि १२ १५ हजार रुपैयाँ संकलन भएछ, हामीले त्यही जरिवाना बापत संकलन भएको रकमलाई चर्पी निर्माणमै लगानी गर्यौं ।

खुला ठाउँमा दिसा गर्नेहरुबाट संकलित रकम र नगर विकास कोषको केही रकम गरी हामीले करिब ३ सय शौचालय बनायौं । हामीले ती चर्पी निर्माणको आधार तोक्यौं । जसले चर्पी बनाउनै सक्दैन, उनीहरुको तथ्यांक संकलन गरेर अति विपन्न र निम्न आय भएका व्यक्तिलाई मात्र हामीले चर्पी निर्माण गरिदियौं ।

ल हेर्नुहोस् । आज सबैको घर घरमा चर्पी बनेको छ । चर्पी नबन्दा बनेको थिएन तर बन्न थालेपछि महिला र पुरुषका लागि छुट्टा छुट्टै बनेको छ । ठूलो परिवारमा त महिलाले ढिलो गर्लान्, अरु लाइन बसेको बसेकै हुने भयो भनेर पुरुषका लागि छुट्टै निर्माण गरिएको पनि छ ।

चर्पीमा गरेको लगानीको फलस्वरुप आज बाहिर दिसा गर्न जाँदा समातिए भन्ने खबर सुन्नुपरेको छैन । बाहिर दिसा गर्न जाँदा महिला माथि बलात्कारको प्रयास भयो रे भन्ने सुन्नुपरेको छैन । शौचालय बनेकै कारण महिला हिंसामा कर्मी आएको विषय सबैका लागि सुखद होइन ???

ओरेक नेपाल, धनुषाकी कल्पना कडारीसँग गरिएको कुराकानीमा आधारित ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार