दैलेख : दैलेखको गुराँस गाउँपालिकाले वर्षाैंदेखि खानेपानीको समस्या झेल्दै आएका विभिन्न बस्तीमा एकैसाथ ६ वटा लिफ्टिङ खानेपानी योजना सुरु गरेको छ । ती मध्ये दोबाटो गाउँ लिफ्टिङ खानेपानी योजना सम्पन्न भइसकेको छ भने झयाजे भिउचुला लिफ्टिङ खानेपानी योजनाको काम शुरु भएको छ । यस्तै मर्खे खानेपानी, डुडापोखरा खानेपानी, तारापोखरी खानेपानी र बुबैराखे खानेपानी योजनाको काम पनि सुरु भएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।
झयाजे भिउचुला लिफ्टिङ खानेपानीको विवाद सुल्झियो
गाउँपालिकाको सबैभन्दा ठूलो मानिएको झयाजे भिउचुला लिफ्टिङ खानेपानी योजनाको विवाद सुल्झिएको छ । लिफ्टमार्फत खानेपानी लिँदा आफूहरूलाई समस्या हुने भन्दै तल्लो गर्चाका केही स्थानीयले विरोध जनाए पछि विवाद उत्पन्न भएको थियो । गाउँपालिकाले दुवै गाउँका बासिन्दाबीच सहमति गराएपछि विवाद समाधान भएको हो । विवादको अन्त्य भएसँगै खानेपानी योजनाको काम पनि सुरु भएको छ । अहिले गाउँपालिकाको प्राविधिक इस्टिमेटअनुसार मुहान नजिक टयांकी बनाउन लागेको भिउचुला उपभोक्ता समितिका अध्यक्ष भक्तबहादुर केसीले बताउनुभयो । अध्यक्ष केसीका अनुसार चालु आर्थिक बर्षको विनियोजित बजेटले टयांकी निर्माण गर्ने र आगामी वर्षको बजेटबाट थप काम गरिनेछ ।
करिब २ किमि दूरीको उकालोमा मोटर मार्फत पानी तानेर भिउचुलामा टयांकी बनाएको ट्यांकीमा पानी जम्मा गरेर खानेपानी वितरण गर्ने गाउँपालिकाको योजना छ । योजनाका लागि चालु आर्थिक बर्षमा १५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
झयाजे भिउचुला लिफ्ट खानेपानी योजनाका लागि करिब १ करोड लाग्ने अनुमान गरिएको छ । आयोजना सम्पन्न भएपछि भिउचुला, मेलपोखरा तथा आसपासका गरी २ सय घरपरिवार लाभान्वित हुने गाउँपालिकाका अध्यक्ष ओलीले बताउनुभयो । सबै लिफ्टिङ सिस्टमका योजनामा चालु आर्थिक बर्षमा ६० लाख रुपैयाँ विनियोजन गरिएको र आगामी २ वर्षभित्र सबै लिफ्टिङ खानेपानी योजनाको काम सम्पन्न हुने उहाँले दाबी गर्नुभयो ।
लिफ्टिङ सिस्टमबाट मर्खे खानेपानी, डुडापोखरा खानेपानी, तारापोखरी खानेपानी र बुबैराखे खानेपानी योजनाको काम सुरु गरिएको हो । गाउँपालिकाले खानेपानीको समस्या भएका विभिन्न क्षेत्रको पहिचान गरी लिफ्टिङ प्रविधिबाट खानेपानी तान्ने योजना बनाइएको जनाएको छ ।


1427 पटक हेरिएको 

