खोलामा पम्प, डाँडामा खानेपानी

सल्यान : वर्षौंदेखि खानेपानीको समस्यामा परेको बाग्चौर नगरपालिका–२, पल्नो चिलढामा हाइड्रो–याम पम्पबाट खानेपानी पुर्‍याइएको छ । स्थानीय तिल्चो खोलामा दुईवटा पम्प जडान गरेपछि डाँडामा खानेपानी पुगेको हो ।

समुद्र सतहदेखि तीन सय मिटर उचाइमा रहेको बस्तीमा पानी पुगेपछि २५ घरधुरीको सिँचाइको समस्या समेत समाधान भएको छ । पानीका लागि आधा घण्टा तलको खोलामा जानुपर्ने बाध्यता टरेको स्थानीको भनाइ छ । पानीको सुविधा भएपछि कृषकाले बाँझो जग्गामा मौसमी र बेमौसमी तरकारी खेती गर्न थालेका छन् ।

हाइड्रो–याम पम्पले फालेको पानी ठूलो पोखरी बनाई जम्मा गरेर सिँचाइको रूपमा प्रयोग गरिरहेको किसानको भनाइ छ । स्थानीय प्रेमबहादुर डीसीले पानीको सुविधा पुगेपछि धेरै राहत भएको छ । उनका अनुसार तिल्चोखोलामा जडान गरेका दुई पम्पले एक मिनेटमा १२ लिटर पानी फाल्दै आएको खबर कान्तिपुर दैनिकमा छापिएको छ ।

यसले खानेपानी, तरकारी बालीमा सिँचाइका लागि प्रशस्त पुग्ने उनको भनाइ छ । ‘खानेपानीका लागि आधा घण्टा हिँडेर घण्टौं लाइन लाग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘सिँचाइ सुविधा भएपछि यस वर्षदेखि खाली जग्गामा व्यावसायिक अनार खेती सुरु गरेको छु ।’ उनले कुखुरापालन पनि थालेको बताए ।

बाह्रै महिना एकैनासको पानी आउने भएकाले सजिलो भएको स्थानीय धनबहादुर डाँगीले बताए । ‘पानीको समस्या भएपछि शौचालय प्रयोग गर्नेको संख्या निकै घटेको थियो,’ उनले भने, ‘तर अहिले सबैले नियमित प्रयोग गर्न थालेका छन् । गाउँ पनि सफा सुग्घर देखिएको छ ।’ उनका अनुसार तरकारी खेतीले स्थानीय आत्मनिर्भर बन्न थालेका छन् ।

गाउँमा पानी पुगेपछि एक बाली मात्रै लगाइने जग्गामा दुई बाली लाग्न थालेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोग र श्रमदानसमेत पाँच लाखको लगानीमा योजना सम्पन्न भएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार