पाँचथर : पाँचथरको कुम्मायक गाउँपालिकाको यासोकमा निर्माणाधीन तमोर लिफ्ट खानेपानी आयोजनाले करिब ७० प्रतिशत काम सम्पन्न गरेको छ । ३ वर्ष अघि सुरु भएको खानेपानी आयोजनाले ११ वटा मुख्य ट्यांकी निर्माण गरेको छ भने १७.९ किलोमिटर पाइप लाइन निर्माणको काम पनि सम्पन्न गरेको छ ।
यस्तै ९ वटा पम्प हाउस निर्माण र कार्यालय भवन निर्माण तथा विद्युत प्रसारण गर्ने काम सम्पन्न भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इन्जिनियर रवीन्द्र रायले जानकारी दिनुभयो ।
१९३ किलोमिटर शाखा पाइप लाइन मध्ये १३७ किलोमिटर विछ्याउने काम भएको र ती मध्ये जीआई, एचडी पाइप जडान गर्ने काम भइरहेको इन्जिनियर रायले जानकारी दिनुभयो ।
यस्तै विद्युत प्रसारणको काम पनि धमाधम भइरहेको छ । कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारदेखि दोभानसम्म ८.८ किलोमिटरको ११ केभी विद्युत् प्रसारण लाइन बनाउनु पर्नेछ । लिफ्टिङ प्रक्रियाका लागि दैनिक ४५० किलोवाट विद्युत् आवश्यक पर्ने इन्जिनियर रायले बताउनुभयो ।
खानेपानी निर्माण सम्पन्न भएपछि कुम्मायक गाउँपालिकाको १, ३, ४ र ५ का १३ हजार ८४० जनसंख्या लाभान्वित हुने आयोजनाले जनाएको छ । ५१ करोड ३० लाख २० हजार ५६८ रुपैयाँको लागतमा निर्माणाधीन खानेपानीको लागि प्रति सेकेन्ड २०.३८ लिटर पानी ल्याउने तयारी गरिएको निर्माण पक्षले जनाएको छ ।
खानेपानीको अभावका कारण बर्षेनी यासोक, स्याबरुम्बा लगायतका बासिन्दा बसाई सर्न बाध्य छन् । खानेपानीको आपूर्ति भएपछि बसाइँसराइ रोकिने स्थानीय बासिन्दा बताउँछन् ।


1253 पटक हेरिएको 

