म्याग्दी : म्याग्दीको बेनी खानेपानी आयोजनामा खानेपानी प्रशोधन, वितरण र महशुल संकलन गर्न ‘स्मार्ट प्रविधि’ अपनाइने भएको छ । स्मार्ट खानेपानी आयोजना सञ्चालन गर्न बेनी खानेपानी उपभोक्ता संस्था, बेनी नगरपालिका, नगर विकास कोष र दक्षिण कोरिया स्थित इन्कोनी नेसनल युनिभर्सिटीका विज्ञहरूको टोलीले अध्ययन थालिसकेको छ ।
स्मार्ट प्रविधिको प्रयोग गर्न बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र इन्कोनी नेसनल युनिभर्सिटी दक्षिण कोरियाका सूचना प्रविधि विषयका प्राध्यापक चोए गेउनबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको नगर कार्यपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयो । खानेपानी आयोजनाको लागत करिब करिब २२ करोड रुपैयाँ अनुमान गरिएको छ ।
दातृ निकाय र प्राविधिक सहयोग गर्ने संस्थाका प्रतिनिधिले आयोजना पूर्वाधारको स्थलगत अध्ययन गरिसकेका छन् ।
के हो स्मार्ट प्रविधि ?
स्मार्ट प्रविधि खानेपानीको शुद्धीकरण, खानेपानी वितरण, संरचना र महशुल संकलन कार्यमा प्रयोग गरिने उच्च प्रविधि हो । स्मार्ट प्रविधिको प्रयोगबाट मुहान, इन्केट, पाइपलाइन, रिजर्भ ट्यांकीदेखि वितरण लाइनमा सेन्सस उपकरण जडान गरेर कार्यालयबाटै निगरानी, समस्या र अवस्थाको जानकारी लिन सकिन्छ । पानीलाई शुद्धिकरण गर्न निरन्तर प्रशोधन, महशुल रिडिङ कार्यालयबाटै हुने र उपभोक्ताले मोबाइलबाट घरमै बसेर महशुल भुक्तानी गर्न सकिने सुविधा यसमा रहेको हुन्छ ।
स्मार्ट खानेपानी आयोजनाबाट बेनी नगरपालिकाको वडा नं. ७ र ८ का एक हजार घरपरिवार लाभान्वित हुनेछन् । बेनी नगर विकास कोष र कोरियाको विश्व विद्यालय बीच गत बर्ष भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष सुवाषकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार आयोजनाको डीपीआर तयार पार्न विज्ञको टोलीले स्थलगत अध्ययन गरी सरोकारवाला सँग छलफल तथा अन्तरक्रिया पनि गरिसकेका छन् ।


1408 पटक हेरिएको 

