काठमाडौ : काठमाडौ महानगरपालिकाको वडा नं. १३ स्थित टंकेश्वर महादेवको मन्दिरमा बायोग्यास प्लान्ट सहितको सुविधा सम्पन्न शौचालय निर्माण भइरहेको छ । मन्दिरमा आउने भक्तजन र किरिया बस्न आउनेका लागि सहज होस् भन्ने उद्देश्यले बायोग्यास सहितको शौचालय निर्माण भइरहेको हो ।

MinErgy र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा निर्माण भइरहेको शौचालय अपाङ्गमैत्री हुने र नुहाउनका लागि २ वटा स्नानकोठा समेत रहने टंकेश्वर संरक्षण समाजका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
‘किरिया बस्नेहरुले दैनिक नुहाउनुपर्छ, शौचालय सँगै नुहाउने ठाउँको व्यवस्था गर्न सके सजिलो हुन्छ नि ?, केही पकाउनका लागि ग्याँस लिएर आउन नि गाह्रो, यही बायोग्याँसको व्यवस्था भए पकाउन पनि सकिन्छ’ श्रेष्ठले भन्नुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार मन्दिरमा भजन, किर्तन गर्न हरेक बिहान ५०/६० जना सम्म आउने गरेका छन् । किरिया बस्ने पनि मासिक १५ परिवारको करिब १०० जना हुन्छन् ।

बायोग्यास सहितको सुविधा सम्पन्न शौचालय निर्माण सम्पन्न भएपछि दैनिक १०० भन्दा बढी लाभान्वित हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार शौचालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ । स्थानीय बासिन्दाले व्यहोर्नुपर्ने रकम अपुग भएकाले निर्माणमा केही ढिलाई भएको र अहिले चन्दा संकलनको काम भइरहेको छ ।

बायोग्यास सहितको शौचालय निर्माणका लागि UNICEF आर्थिक सहयोग गरेको छ भने प्राविधिक सहयोग MinErgy ले गरेको छ । यसका लागि स्थानीयबासिन्दाले समेत नगद योगदान गरेका छन् ।



1541 पटक हेरिएको 

