असि प्रतिशत रोग दुषित पानीबाट लाग्छ
सुरक्षित पानी मात्र पिउँ रोगहरु भाग्छ
पानीमा भएका किटाणुहरु जब नष्ट हुन्छ नी
त्यो पानीलाई मात्रै सुरक्षित पानी भनिन्छ नी
पानी शुद्धिकरण गर्ने चार विधिलाई जानौं
उमाल्ने, फिल्टर गर्ने, क्लोरिनेशन, सोडिस विधि मानौं ।
पाल्चोक माध्यामिक विद्यालय ककनीकी छात्रा विष्णुमाया तामाङ (कक्षा ९) ले यी पंक्तिहरु सुनाउँदा दर्शक दिर्घामा पररर्र ताली बजे । बालसुधार माध्यामिक विद्यालय दुवाचौरमा आयोजित मेरो स्वास्थ्यका लागि सुरक्षित पानी शीर्षकको कविता प्रतियोगिताकी प्रतिस्पर्धी उनको कविता उत्कृष्ठ ठहरियो । उनले आफ्नो शरीर ८७ प्रतिशत पानीबाट बनेको, दुषित पानी र सरसफाइको कमीबाट ८० प्रतिशत रोग लाग्न सक्ने भएकोले स्वस्थ रहनका लागि सुरक्षित पानी पिउनु पर्ने आशय सहितको कविता सुनाएकी थिइन् ।
आउँ, झाडापखाला, रगतमासी, टाइफाइड, जण्डिस, पोलियो
निरोगी हुन सुरक्षित पानी पिउँ जीवन हुन्छ बलियो ।
पानी सुरक्षित राख्ने विधि अरुलाई पनि सिकाउने छु
पानीजन्य रोगबाट लाग्ने खर्च सजिलैसँग घटाउने छु
पानी सुरक्षित बनाउन हामी आजैबाट अभियान चलाउँ
सुरक्षित पानी पिउँ आफु बचौं अरुलाई पनि बचाउँ ।
जय बागेश्वरी माध्यामिक विद्यालय पाल्चोककी नविना खड्का (कक्षा ७) ले यी पंक्तिहरु उच्चारण गर्दा भने दर्शक दिर्घामा मौनता छाएको थियो । उनीहरु कवितामा उल्लेख भएको जस्तै पानीजन्य रोगका कारण उपचारमा भएको खर्चका बारेमा सोचिरहे जस्ता देखिन्थे । पानीको गुणस्तर परीक्षण गरेर सुरक्षित भए नभएको पत्ता लगाउनु पर्ने, ४ विधिबाट पानी शुद्धिकरण गर्न सकिने, पानी राख्ने भाँडा पनि सफा हुनु पर्ने, सुरक्षित पानी पिएमा रोगको उपचारका लागि हुने खर्च घटाउन सकिने आशय सहितको कविता सुनाएकी नविना पनि उत्कृष्ठ ठहरिइन् ।

विष्णुमाया, नविना जस्तै अरु २२ जना विद्यार्थीले मेरो स्वास्थ्यका लागि सुरक्षित पानी शीर्षकमा कविता सुनाएका थिए । खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी सिन्धुपाल्चोकमा लामो समयदेखि काम गरिरहेको संस्था सामुदायिक विकास तथा वातावरण संरक्षण मञ्चले विद्यार्थीका कविता सुन्ने र सिकाइ आदान प्रदान गर्ने अवसर श्रृजना गरेको थियो । कारितास स्विटजरल्याण्ड र हेल्भेटास नेपालको आर्थिक सहयोगमा सञ्चालित सिन्धुपाल्चोकका भूकम्प प्रभावित विद्यालयको पुनस्थापना परियोजना अन्तर्गत कार्यक्षेत्रका तीन ठाउँमा कविता प्रतियोगिता आयोजना गरिएको कार्यक्रम अधिकृत विनोद शर्माले बताउनुभयो ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी दुवाचौर, तालामाराङ र ईचोकमा शुक्रबार क्षेत्रगत कविता प्रतियोगिता भएको हो । दुवाचौर र पाल्चोकका लागि बालसुधार माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा पाल्चोक माध्यामिक विद्यालय ककनीकी विष्णुमाया तामाङ पहिलो, जयबागेश्वरी माध्यामिक विद्यालय पाल्चोककी नविना खड्का दोस्रो र बालसुधार माध्यामिक विद्यालयकी निर्जला श्रेष्ठ तेस्रो भए । उक्त प्रतियोगितामा पाल्चोक, जयबागेश्वरी, बालसुधार र जलवाइदेवी मावि तथा ज्योतीभञ्ज्याङ आधारभुत विद्यालयका ५ छात्र र ५ छात्रा गरी १० जनाको सहभागिता रहेको थियो ।

तालामाराङको जागेश्वरी आधारभुत विद्यालयमा भएको प्रतियोगितामा पञ्चकन्या आधारभुत विद्यालयकी नम्रता आचार्य पहिलो, जागेश्वरी आधारभुत विद्यालयका विनोद तामाङ दोस्रो र बतासे माध्यामिक विद्यालयकी मनिषा तामाङ तेस्रो भए । उक्त प्रतियोगितामा पञ्चकन्या र जगेश्वरी आधारभुत विद्यालय तथा बतासे माध्यामिक विद्यालयका ३ छात्र र ३ छात्रा गरी ६ जनाको सहभागिता रहेको थियो ।
महाँकाल, इचोक र हेलम्बुका लागि महेन्द्र माध्यामिक विद्यालयमा भएको प्रतियोगितामा गोल्मादेवी माध्यामिक विद्यालयका डेबिड दाहाल पहिलो, महेन्द्र माध्यामिक विद्यालयका अखिल के.सी. दोस्रो र गोल्मादेवीकै छेन्जुम ह्योल्मो तेस्रो भए । उक्त प्रतियोगितामा महेन्द्र, गोल्मादेवी र सरस्वती माध्यामिक विद्यालय तथा महाकालेश्वरी आधारभुत विद्यालयका ४ छात्र र ४ छात्रा गरी ८ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताका उत्कृष्ठ विद्यार्थीलाई पुरस्कार स्वरुप पानी छान्ने फिल्टर तथा प्लास्टिकको बोतल उपलब्ध गराईएको कार्यक्रम अधिकृत विनोद शर्माले जानकारी दिनुभयो । साथै सबै सहभागी विद्यार्थीलाई २ लिटर क्षमताको विजुलीबाट पानी तताउने जग उपलब्ध गराइएको उहाँको भनाइ छ । तीन ठाउँमा भएको प्रतियोगितामा १२ विद्यालयले सहभागिता जनाए पनि तेर्से माध्यामिक विद्यालय र सर्वोदय प्रश्तावित माध्यामिक विद्यालय भने सहभागी नभएको अधिकृत शर्माले बताउनुभयो ।
विद्यार्थीमा भएको क्षमता प्रदर्शन गर्ने अवसर श्रृजना गर्ने र खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धन सम्बन्धी विद्यार्थीको सिकाइलाई पनि आदान प्रदान गर्ने उद्धेश्यले वर्षाको समय पारेर सुरक्षित पानी र स्वास्थ्यको सम्बन्धका बारेमा प्रतियोगिता आयोजना गरिएको मञ्चले जनाएको छ ।


5865 पटक हेरिएको 

