अछाम : “वर्षौंदेखिको खानेपानीको समस्या छ, डाँडामा पोखरी बनाएपछि तल्लो क्षेत्रका मुहानहरू बढ्छन कि भन्ने आशाले पोखरी खन्न आएका छौं, गाउँपालिकाले राम्रो अभियान ल्याएको छ,” यो भनाइ चौरपाटी गाउँपालिका–१ की हासु थापाको हो । आफूहरूलाई पानीको सधैं दुःख हुने भएकाले रिचार्ज पोखरी निर्माणमा सबै गाउँले जुटेको उनको भनाइ थियो ।

यतिबेला चौरपाटी गाउँपालिकाले सबै ७ वटै वडाका अग्ला डाँडामा रिचार्ज पोखरी (पानी जम्ने ससाना खाल्डाखुल्डी) निर्माणकार्य चलिरहेको छ । गाउँपालिकाका हरेक घरधुरीबाट एकएक जना सहभागी भएर सबै डाँडामा वर्षात्को पानी जम्ने साना खाल्डा धमाधम निर्माण भइरहेका छन् ।
पानीका मुहान संरक्षण, जंगल संरक्षण र जमिनको आद्रता बढाउनका लागि गाउँपालिकाले यस्तो नीति अवलम्बन गरेको गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले बताए । उनले भने, “यो अभियान जनताको अभियान हो, स्वयंसेवी रूपमा लागेर हरेक वडामा दैनिक एक सयको हाराहारीमा रिचार्ज पोखरी निर्माण भइरहेका छन्, गाउँपालिकाभरि ४ देखि ५ हजार यस्ता पोखरी निर्माण गर्ने हाम्रो लक्ष्य छ ।”
पिउने पानी पनि पर्याप्त नहुने चौरपाटी गाउँपालिकाका विभिन्न वडामा महिलालाई बढी नै दुःख हुने गरेको भन्दै सबै महिला पोखरी खन्नमा सक्रिय भएर लागेको स्थानीय महिला ईन्द्रा थापाको भनाइ छ । गाउँपालिकाले सञ्चालन गरेको यो अभियानमा स्थानीयहरू स्वंसेवी रूपमा उल्लासपूर्ण तरिकाले सहभागी भइरहेका छन् । पानीको अभाव टार्नका लागि आफूहरू अग्ला डाँडामा ससाना पोखरी निर्माणमा खटिएको स्थानीय टेकबहादुर थापाले बताए ।
गाउँपालिकाले सञ्चालन गरेको रिचार्ज पोखरी निर्माण अभियानले स्थानीयलाई उत्साहित बनाएको र यसबाट किसानलाई राहत हुने नेकपाका युवा नेता रामबहादुर थापाले बताए । उनले भने, “पोखरीको दिगोपना र निरन्तरताका लागि पनि गाउँपालिकाले सक्रियता देखाउनुपर्छ ।”
गाउँपालिकाले ४ देखि ५ हजारको संख्यामा सातवटै वडाका डाँडामा ससाना रिचार्ज पोखरी निर्माण गर्ने र हरेक वडामा खाली जमिन भएको ठाउँमा आकाशे पानी संकलन गर्ने र बृहत् सिँचाइ पोखरी बनाउने नीतिसमेत अवलम्बन गरेको छ ।
कारोबार दैनिकबाट ।


7122 पटक हेरिएको 

