सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको ३ वटा वडाको खानेपानीको समस्या समाधान गर्ने जिम्मा सगरमाथा कन्ट्रक्सन कम्पनीले पाएको छ ।
‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ दुई वर्षभित्र सम्पन्न गर्ने गरी सगरमाथा कन्ट्रक्सन कम्पनीले १५ करोड ६८ लाख रुपैयाँमा निर्माणको ठेक्का लिएको हो ।
निर्माण सम्पन्न भएपछि साँगाचोकगढी नगरपालिकाको १०, ११ र १२ वडाका २ दुई हजार २२३ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाउने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिनुभयो ।
डिभिजन प्रमुख उपाध्यायका अनुसार हर्रे डाँडामा खानेपानी ट्याङ्की बनाइनेछ । इन्टेकदेखि एक हजार एक सय मिटरको उचाइमा रहेको त्यो ट्याङ्कीमा विजुलीबाट पानी तानेर जम्मा गरिनेछ । त्यहाँबाट प्रशोधन केन्द्रमा खानेपानीको शुद्धीकरणका गरिनेछ ।
पानी सङ्कलनका लागि ५० हजारदेखि दुई लाख लिटर क्षमताका १४ वटा ट्याङ्की निर्माण गरिनेछ । निर्माण पछि एक वर्षसम्म ठेकेदारले नै सञ्चालन गरेर उपभोक्ता समितिलाई खानेपानी आयोजना हस्तान्तरण गरिनेछ । उपभोक्ता समिति मार्फत प्रत्येक घरमा निजी धारा जडान गरिने र यसका लागि प्रत्येक घरले १० प्रतिशत श्रम गर्नुपर्नेछ ।


1055 पटक हेरिएको 

