तेह्रथुम : खानेपानीको अभावका झेलिरहेका तेह्रथुमको सुख्खाग्रस्त क्षेत्रका बासिन्दाले अहिले पानीको स्रोत संरक्षणमा जुटेका छन् । यसका लागि उनीहरुले खेर गइरहेको वर्षातको पानी पोखरीमा जम्मा गरेर जोहो गर्न थालेका छन् ।
सुख्खायाममा खानेपानीको स्रोत सुक्न थालेपछि यसको उपाय स्वरुप बर्षातको पानीको पोखरी निर्माण गरी जम्मा गर्न थालेका हुन् । यसरी जम्मा गरेको पानी जमिनले सोसेर सधैं चिस्यान रहने र खानेपानीको स्रोत नसुक्ने उनीहरु बताउँछन् ।
गाउँगाउँमा निर्माण गरिएका प्लास्टिक पोखरी बहुउपयोगी भएको तेह्रथुमको छथर–५ का नोचन्द्र पौडेलले बताउनुुभयो । ‘यो प्लाष्टिक पोखरी बहुउपयोगी हुने रहेछ, कतै सिचाई लागि पानी चाहियो भने त्यसका लागि पनि ठिक्क हुने रहेछ । आगालागी भयो भने आगो निभाउन पनि उपयोग गर्न मिल्ने रहेछ, पानी जमाइराखेको वरपरको भूुभाग जहिले पनि चिस्यान भइरहन्छ’ पौडेलले भन्नुुभयो ।
५ वर्षअघि सुकिसकेका पानीको मुहान अहिले चरम खडेरी भएमा मात्र सुक्ने गर्छ । सिचाई अभावमा बजारबाट दैनिक तरकारी फलफूल किनेरै खानुपर्ने अवस्था रहेको छथरमा अहिले बर्षैभरि हरियो तरकारी फल्न थालेका छन् ।
गाउँपालिकामा खानेपानीको समस्यालाई समाधान गर्न आर्थिक वर्ष ०७४/७५ बाट छथर गाउँपालिकाले १ सय बढी घरपरिवारलाई प्लाष्टिक पोखरी निर्माण गर्न लगाएको गाउँपालिका प्रमुख सन्तोष तिगेलाले बताउनुुभयो ।
खानेपानीसँगै सिँचाइमा पानी नहुँदा समस्या भोग्दै आएका यहाँका स्थानीयको समस्या समाधानका निम्ति गत वर्ष बोरिङ प्रविधिबाट पानी निकालेर सुख्खाग्रस्त क्षेत्रमा वितरण गरिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुुभयो ।
त्यस्तै जिल्लाको फेदाप गाउँपालिकाको ओयाक्जुङ यावाराका किसान एक घर एक पोखरी अभियानमा जुट्दै आएका छन् । पोखरी निमार्णसँगै तरकारीबालीका र फलफूल खेतीमा सहजता मिलेको स्थानीय धनकुमारी ढकालले बताउनुुभयो ।


1927 पटक हेरिएको 

