काठमाडौं : चिनी उद्योगबाट विजुली निकालिने भएको छ । यसका लागि ६ मेगावाट विजुलीको विद्युत खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत प्राधिकरणले बीरगन्जमा सञ्चालित इन्दु शंकर चिनी उद्योग लिमिटेड र महोत्तरीको एभरेष्ट सुुगर एन्ड केमिकल इन्डष्ट्रिज लिमिटेडसँग पिपिए गरेको हो ।
इन्दु शंकर उद्योगसँग ३ मेगावाट र एभरेष्ट सुुगर एन्ड केमिकल इन्डष्ट्रिज लिमिटेडसँग ३ गरी ६ मेगावाट विजुलीको पिपिए भएको हो । इन्दु शंकर चिनी उद्योगको हकमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र उद्योगका अध्यक्ष राजेशकुमार केडियाले हस्ताक्षर गर्नुभयो । विजुली उत्पादन गरी विक्री वितरणका लागि यो नै चिनी उद्योगसँग भएको पहिलो पिपिए हो ।
यस्तै, एभरेष्ट सुगर मिलले उत्पादन गर्ने ३ मेगावाट विद्युतको पिपिएमा प्राधिकरणको योजना अनुगमन तथा सुचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र मिलका तर्फबाट अध्यक्ष शशी अग्रवालले हस्ताक्षर गर्नुभयो ।
विद्युत ऐन, २०४९ को दफा ३५ अनुसार इच्छुक उद्योगसँग करार सम्झौता गरी विद्युत उत्पादन गर्ने निर्णयअनुसार प्राधिकरणले पिपिए गरिएको हो ।
पिपिए अनुसार दुवै उद्योगले सुख्या यामको ६ महिना (१६ मंसिर–१५ जेठ) मा उपलब्ध गराउने विद्युत प्रति युनिट ८.४० रुपैयाँमा प्राधिकरणले खरिद गर्ने प्रधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताउनुुभयो ।
उहाँका अनुसार सुख्खा याम पछिको अवधिमा उत्पादन हुने विद्युत प्रति युनिट ४.८० रुपैयाँमा प्राधिकरणले खरिद गर्नेछ । पिपिएमा हस्ताक्षर भएको मितिले १८ महिना भित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जडान गर्नुपर्नेछ ।
चिनी उद्योगबाट प्राप्त हुने कुल ऊर्जाको ५ प्रतिशत रकम काटेर प्राधिकरणले पिपिए भुक्तानी गर्नेछ । ५ प्रतिशत रकम कृषि तथा पशुपन्छी विकास मन्त्रालय मार्फत उखु खेती गर्ने कृषकको हकमा उपयोग हुने प्राधिकरणले जनाएको छ ।
कसरी उत्पादन हुन्छ चिनी मिलबाट विद्युत् ?
चिनी उद्योगहरूले उखुलाई पेलेर रस संकलन गर्छन् र उखु, खोइला (बगास) का रूपमा बाहिर निस्किन्छ । फोहोरको रुपमा परिणत भएको त्यही खोइलालाई बालेर उखुको रस उमालेर प्रक्रियागत रूपमा चिनी उत्पादन गरिन्छ । चिनी बनाउने प्रक्रियामा ठूला–ठूला उमाल्ने उपकरणमा ठूलो परिमाणमा बाफ निस्कन्छ ।
त्यही उमालेको पानीको बाफले टर्बाइन घुमाएर विजुली निकालिन्छ । यसरी निकालिने विजुलीको केही प्रतिशत चिनी उद्योग आफैँले खपत गर्छन् भने व्यावसायिक रूपमा उत्पादन गरेको विद्युत् विजुली विक्री गर्न सकिन्छ । भारतमा करिब २ सय ५० चिनी उद्योगले झन्डै ३ हजार मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा बिक्री गरिरहेका छन् ।
नेपालमा पनि यो प्रक्रिया शुरु भइसकेको छ । आजै पीपीए भएका दुवै चिनी मीलले ३/३ मेगावाट विजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने बताएका छन् ।