भैरहवा : लुम्बिनीमा लुम्बिनी विकास कोष र प्रदेश ५ सरकारको पहलमा ई शौचालय सेवा सुरु भएको छ । भारतबाट आयात गरिएको ई परिक्षण आजबाट गरिएको हो ।
शौचालय प्रयोगका लागि निर्धारित सिक्का वा रुपैयाँ शौचालयको प्वालमा छिराएपछि ढोका आफैं खुल्छ । यसमा स्वचालित फ्लस सुविधा छ । आफैं हात धुने र महिलालाई आवश्यक परे सेनेटरी प्याड समेत उपलब्ध हुन्छ ।
सिमेन्ट र कंक्रिटबिनाको यो शौचालय वातावरणमैत्री पनि छ । ठूलो भाँडामा संकलित मलमूत्र बायोडाइजेस्टिक प्रविधिबाट गलाइन्छ । गलाएको मलमूत्र १० वर्षसम्म निकाल्नु नपर्ने इराम साइन्टिफिकका मनोज जीसीले बताउनुुभयो ।
यसको प्रयोगकर्ताले कुनै पनि सामान छुन नपर्ने उहाँले बताउनुुभयो । उहाँका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सञ्चालन गरेको स्वच्छ भारत अभियान अन्तर्गत यस्ता प्रविधियुक्त हजारौं शौचालय प्रयोगमा ल्याइएको छ ।
७ वर्षअघि मायादेवी मन्दिर नजिकै निर्माण गरिएको शौचालय पुरातत्त्व विभागले भत्काए पछि मन्दिरमा आउने पर्यटकलाई शौच गर्न समस्या थियो ।
विश्व सम्पदा मायादेवी मन्दिरमा वार्षिक १५ लाखभन्दा बढी पर्यटक आउने गर्छन् । कपिलवस्तुस्थित बुद्धस्थल र पश्चिम नवलपरासीको रामग्राममा विद्युतीय शौचालय सञ्चालन गर्ने लुम्बिनी विकास कोषका योजना प्रमुख तथा निमित्त सदस्य सचिव सरोज भट्टराईले बताउनुुभयो ।


1271 पटक हेरिएको 

