रौतहट : चन्द्रपुर–९ स्थित डुमरियामा ५० घरपरिबार मुसहर समुदायको छ । उनीहरूको घरमा शौचालय छैन । वडा अध्यक्षले अधिकांश मुसहर समुदायको नक्कली हस्ताक्षर गरी शौचालयका सामान बुझेको भर्पाइ कागज पेस गरेर नगरपालिकाबाट रकम निकासा लिएको खुलेको छ ।
शौचालयका सामान बुझेको भन्दै जेल परेका व्यक्तिको समेत नक्कली हस्ताक्षर गरिएको फेला पारेको छ । यसरी मुसहर बस्तीमा शौचालयका सामान वितरण गरेको भन्दै रकम निकासा गर्नेमा चन्द्रपुर ७, ९ र १० नम्बर वडाका अध्यक्ष छन् । यसमा नगरपालिकाले छानबिनका लागि कार्यदल बनाएको छ । उनीहरूले नगरपालिकाका कर्मचारीको मिलोमतोमा झन्डै २५ लाख रकम निकासा लिइसकेका छन् । अधिकांश मुसहर समुदायले शौचालयका सामान पाएका छैनन् ।

रौतहटको चन्द्रपुर नगरपालिका ९ स्थित मुसहर बस्ती । यस बस्तीको एक घरमा पनि शौचालय छैन ।
तर उनीहरूले सामान बुझेको भनी वडा अध्यक्षहरूले हस्तारक्षर गरेको कागज नगरपालिकामा बुझाई गत आर्थिक वर्षको बजेटबाट निकासा लिएका हुन् । डुमरियाको भउचर माझी मुसहर बलात्कारको मुद्दामा जेल परेको एक वर्ष हुन लाग्यो । उनी अझै पनि जेलमै छन्् । तर उनले शौचालय बनाएको भनेर नक्कली हस्ताक्षर गरिएको फेला परेको छ । उनका बुहारी ज्ञानवती देवीले शौचालय नै नभएको र ससुरा बुवा जेल परेकाले कसले सही गर्यो भन्ने आश्चर्यमा परेको बताइन् ।
छिमेकी महिलालाई बलात्कार गरेको आरोपमा ८ महिनाअघि उनी जेल परेका हुन् । उनको नाममा अंग्रेजीमा हस्ताक्षर गरिएको छ । उनी पढलेख गर्न जान्दैनन् । नेपाल सरकारको गुरुयोजनाअन्तर्गत खुला दिसामुक्त वडा बनाउने अभियानमा सामान बुझिलिएको भनेर मुसहर लगायतका बस्तीका स्थानीयको हस्ताक्षर गरेको भनेर भर्पाइ कागज नगरपालिकामा पेस गरिएको छ । ती अधिकांश नक्कली हुन् । सम्बन्धित वडाका स्थानीयले सामान पाएकै छैनन् ।
डुमरियाको मुसहर बस्तीमा २ घरले मात्र शौचालयका लागि ढकन र रिङ पाएका छन्् । बाँकीको एक घरमा पनि शौचालयको सामान छैन । नगरपालिकाले ढकन, रिङ र प्यानसिट समेत पाइसकेको भन्दै भुक्तानी दिइएको छ । बस्ती पुग्दा अधिकांश मुसहर समुदाय आक्रोसित देखिन्थे । उनीहरू नगरपालिका घेराउ गर्ने भन्दै छलफलमा जुटेका छन् । यस बस्तीका मानिस खुला स्थानमा शौचालय गर्छन् । यहाँको एक घरमा पनि शौचालय छैन ।
४ वर्षदेखि उपचारको अभावमा ओछ्यानमै परेका स्थानीय सुरेश माझीको समेत नक्कली हस्ताक्षर गरिएको छ । अधिकांशले शौचालयका सामान नपाएको गुनासो पोखे । नगरपालिकाले भने सामान पाइसकेको भन्दै रकम भुक्तानी गरेको छ । नगरपालिकाका कर्मचारीले शौचालयको सामान पाएरनपाएको अनुगमन नै नगरी रकम निकासा गरिदिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालले के भएको हो सोधपुछ गर्ने बताए । ‘बदमासी गरेको हो होइन पत्ता लगाउँछौं,’ उनले भने, ‘तीनवटै वडाका अध्यक्षलाई बोलाएर सोधपुछ गर्छौं ।’ वडा नम्बर ७ र १० का मुसहर बस्तीमा समेत यस्तै समस्या छ ।
त्यहाँ पनि अधिकांशले शौचालयको सामान पाएका छैनन् । केहीले मात्र पाएका छन् । उनीहरूले निर्माण गर्न सकेका छैनन् । तर रकम निकासा भइसकेको छ । ७ नम्बर वडाका वडा अध्यक्ष विष्णु उप्रेती ९ का गोविन्द दुलाल र १० का जयराम चौधरी तीनै जना कांग्रेसबाट जितेका हुन् । तीनै जनालाई कांग्रेसको नगरकमिटीले कार्यालयमै बोलाएर नक्कली हस्ताक्षर गरी रकम निकासा गरिएको भन्ने हल्लाले पार्टी बदनाम भएको भन्दै सोधपुछ गरेको थियो । वडा अध्यक्षहरूले अब सामान किनेर दिने बताए । ‘केही कमिकमजोरी भएकै हो,’ उनीहरूले भनेका छन्, ‘हामी सुधार गर्दै लैजाने छौं ।’
कांग्रेस महासमिति सदस्य सन्जय कार्कीले तीनै वडा अध्यलाई मुसहर बस्तीका स्थानीयको सक्कली हस्ताक्षर गराई सामान वितरण गर्न निर्देशन दिइएको बताए । ‘गलत काम नगर्नुस् भनेका छौं,’ उनले भने।
कान्तिपुरबाट ।


1211 पटक हेरिएको 

