काठमाडौ : खानेपानीमन्त्री बीना मगरले खाना खानु, खुवाउनु तथा बनाउनु र खानेकुरा दिनु अगाडि सबैले साबुन पानीले मिचिमिची हात धुन र निरोगी बन्न आग्रह गर्नु गर्नुभएको छ ।
विश्व हात धुने दिवसको अवसरमा एक सन्देश जारी गर्दै मन्त्री मगरले भारतले राष्ट्रिय हात धुने कार्यक्रम अन्तर्गत गरेको एक अध्ययनले साबुन पानीले हात धुँदा लागेको १ रुपैयाँ बराबरको लगानीले ९२ गुणा बढी उपलब्धी भएको देखाएको र भारतमा गरिएको अभ्यास नेपालमा समेत सान्दर्भिक हुने भएकाले साबुन पानीले हात धुनुलाई सबैभन्दा सस्तो खोपको रुपमा लिन आग्रह गर्नुभएको छ ।
खानेपानी मन्त्री मगरद्वारा जारी सन्देशमा भनिएको छ ‘यो बर्षको विश्व हात धुने दिवस हात धुने र खाना बीचको सम्बन्धमा केन्द्रित रही खाद्य स्वच्छता र पोषणसँग सम्बन्धित छ । यसपालीको नाराले हरेक पटक खाना खानु, खुवाउनुतथा बनाउनु र खानेकुरा दिनु अगाडि साबुन पानीले हात धुने कार्यलाई सम्झाउनेछ । यो दिवसको महत्व भनेकै खानालाई सुरक्षित राख्नु, विभिन्न रोगहरुको रोकथाम गर्नु र बालबालिकाको स्वस्थ तरिकाले हेरचाह गर्नु नै हो ।
विश्वमा सुरक्षित खानेपानी, सरसफाइ र स्वच्छताको अभावमा ५ बर्ष मुनिका करिब १४ लाख बालबालिकाको मृत्यु, झाडापखाला र निमोनिया जस्ता रोगहरुका कारण भइरहेको छ । नेपालमा मात्रै प्रतिबर्ष करिब पाँच हजार बालबालिकाको मृत्यु झाडापखालाजन्य रोगहरुका कारण भइरहेको छ । विभिन्न अध्ययनहरुले देखाए अनुसार किटाणुहरु फैलिनबाट रोगथाम गर्ने सबैभन्दा उत्तम उपाय नै साबुन पानीले हात धुनु हो ।’
नेपाल स्वास्थ्य जनसांख्यिकीय सवेक्षण २०१६ का अनुसार नेपालका ग्रामीण क्षेत्रमा करिब ७५ प्रतिशत घरमा साबुन पानीले हात धुने ठाउँ भएको पाइन्छ । यस्तै शहरी क्षेत्रमा करिब ८५ प्रतिशत घरमा साबुन पानीले हात धनुे ठाउँ रहेको पाइएको छ ।
यद्यपि संवेदनशील समयमा साबुन र पानीले हात धुने अभ्यासबारे भने हाम्रो देशमा हालसम्म कुनै पनि अध्ययन भएको पाइदैन ।
साबुन पानीले हात धुँदा हुने फाइदा
संवेदनशील समयमा साबुन पानीले हात धोएमा मात्र झाडापखालाबाट मृत्यु हुने बालबालिकाको संख्या आधाले घटाउन सकिन्छ ।
यस्तै निमोनियाबाट हुने मृत्युबाट एक तिहाई,
सुत्केरीको समयमा हुने करिब एक चौथाई मृत्युबाट बच्न सकिन्छ ।
झाडापखालाजन्य रोगका कारण हुने अधिकांश सुक्ष्म पोषक तत्वको कमी, पुड्कोपना र ख्याउटेपना बाट बचाउन सकिन्छ ।
बालबालिकाको विद्यालयमा अनुपस्थिति घटना र उत्पादनशील काम गर्नबाट प्रभावित हुने समयलाई कम गरी स्वास्थ्य उपचारमा लाग्ने खर्च समेत घटाउन सकिन्छ ।


2975 पटक हेरिएको 

