लिफ्टिङ्गको पानीले लखेट्यो, रामपुरबासीको खानेपानीको दुःख

रामेछाप  : रामेछापको सुख्खा ग्रस्त क्षेत्र भनेर चिनिने साबिकको रामपुर वडा नं ३ र ४ का नागरिकले व्यहोर्दै आएको खानेपानीको दुःख अब सधैंको लागि अन्त्य भएको छ । नेपाल रेडक्रस सोसाइटीले रामपुरमा सञ्चालन गरेको भुकम्प प्रतिकार्य कार्यक्रमको सहयोगमा गुरुङ्ग खोलाबाट पानी लिफ्टिङ्ग गरेर बस्तीमा ल्याएपछि पानीको दुःख सधैंका लागि समाधान भएको हो ।
हालै मात्र उक्त क्षेत्रमा बालकन्या खानेपानी योजनाको निर्माण कार्य सम्पन्न भएको छ । खानेपानी योजनाको एक कार्यक्रमका बीच नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय अध्यक्ष संजिब थापाले उद्घाटन तथा हस्तान्तरण गर्नु भयो ।

 

 

हस्तान्तरण कार्यक्रममा कसले के भने ?

हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले प्राबिधिक रुपमा चुनौतीपुर्ण रहेको योजना समुदायको सक्रियता र अन्य सहयोगी निकायको सक्रिय सहभागिता र सहयोगमा सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । थापाले योजना सम्पन्न भएसँगै यसको दीगोपना र संरक्षणको जिम्मेवारी समुदायमा गएको भन्दै यसतर्फ उपभोक्ता तथा स्थानीय तहबाट आवश्यक सक्रियता देखाउन आग्रह गर्नुभयो ।

 

बिगत ३ बर्ष देखि बिभिन्न क्षेत्रमा काम गर्दै आइरहेको कार्यक्रमलाई आर्थिक रुपमा सहयोग गरेको रेडक्रसको अन्तराष्ट्रिय महासंघका एसिया क्षेत्रिय निर्देशक ह्याभिएर मास्टेलानोसले योजना सम्पन्न गर्न समुदायले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले खानेपानी जीवनसँग जोडिएको कुरा भएकोले यसको संरक्षण गर्न सबैले आ – आफ्नो क्षेत्रबाट सक्रियता देखाउनुपर्ने बताउनुुभयो ।

 

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले सरकारको बिकासको साझेदारको रुपमा रेडक्रसले ठुलो लगानी गरी बिकासमा पुराएको योगदानको सराहना गर्नुभयो ।

रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश प्रसाद ढकालले भुकम्प पश्चात पुनस् निर्माणको चरणमा निर्माण गरेका खानेपानी योजनाहरु मध्ये रामेछापकोे रामपुरमा निर्माण भएका आइतबारे, बालकन्या खानेपानी र कञ्चन खानेपानी योजनाहरु रेडक्रसकै इतिहासमा ठुला र लिफ्टिङ्ग माध्यमबाट भएकोले चुनौतीपुर्ण रहे पनि सबैको प्रयासबाट सफलता पुर्वक सम्पन्न भएको बताउनुभयो ।

२२१ घरधुरीका १ हजार ५ सय ५ जना लाभान्वित

कुल २ करोड ६० लाखमा निर्माण सम्पन्न भएको योजनाबाट स्थानीय २२१ घरधुरीका १ हजार ५ सय ५ जना र २ ओटा सामुदायिक बिद्यालय लाभान्वित भएको कार्यक्रम संयोजक जयराम बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमबाट यस अघि आइतबारे लिफ्टिङ्ग खानेपानी योजना निर्माण सम्पन्न भइ समुदायमा हस्तान्तरण समेत भैसकेको र अर्को कञ्चन लिफ्टिङ्ग खानेपानी योजना निर्माणको अन्तिम चरणमा रहेको बस्नेतले जानकारी दिनुभयो ।

रेडक्रस रामेछापका सभापति शिब कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगर, प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, नेकपाका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ, नेपाली काँग्रेसका जिल्ला सचिब लेख बहादुर कार्की, वडा अध्यक्ष भिम बहादुर तामाङ्ग , पत्रकार महासंघका बद्री नयाँघरे लगायतले मन्तव्य राखेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार