ललितपुर : ललितपुरको विभिन्न बस्तीका खानेपानीमा दिसामा पाइने जीवाणु कोलिफर्म भेटिएको छ । वातावरण र विकास संस्था (ENDO) ले ललितपुरको ७८८ वटा पानीको नमुना परिक्षण गर्दा ३८२ मा कोलिफर्म भेटिएको हो ।
बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमाको सार्वजनिकीकरण कार्यक्रममा वातावरण र विकास संस्थाले प्रतिवेदन प्रस्तुत गर्दै ललितपुरको ग्रामीण क्षेत्रमा P/A Vial मार्फत पानी परीक्षण गर्दा कोलिफर्मको मात्रा अत्यधिक भेटिएको जनाएको हो ।

वातावरण र विकास संस्थाले ललितपुरको गुसिङ्गाल, सानेपा, पुल्चोक, जावलाखेल, लगनखेल, कुपण्डोल, धौगाल, खोकना, धापाखेल, भैसेपाटी लगायतको क्षेत्रबाट पानीको नमुना संकलन गरेको थियो ।
ENDO ले हैजा नियन्त्रण गर्न पूर्व तयारी तथा प्रतिकार्यका लागि विभिन्न बस्तीमा खानेपानी तथा सरसफाइजन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । ENDO ले ८ वटा सार्वजनिक इनारमा खानेपानी शुद्धिकरणका लागि क्लोरिनेशन गरेको, इनार प्रयोगकर्तालाई खानेपानी शुद्धिकरणका लागि अभिमुखीकरण गराएको, १५ वटा विद्यालयमा बालबालिका केन्द्रित जोखिम मापन तथा योजना तर्जुमा गराएको र खानेपानीको नमुना परीक्षण गरी खानेपानी शुद्धिकरणका लागि सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गदै आएको जनाएको छ ।
युनिसेफको आर्थिक सहयोगमा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो), युम्स, युवालय, वातावरण र विकास संस्था (इन्डो) लगायत संस्थाले हैजा तथा पानीजन्य रोगहरु नियन्त्रणका लागि काठमाडौ उपत्यकाका तीनैवटा जिल्लामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।
हैजा जस्तो महामारी रोगलाई तत्काल फैलिन नदिन प्रतिकार्य भन्दा पनि पूर्वतयारी प्रभावकारी हुने भएकाले पूर्व तयारीका लागि क्षमता अभिवृद्धि गर्न सहयोग गर्दै आएको युनिसेफकी वास अफिसर लुना कंसकारले बताउनुभयो ।

उहाँका अनुसार सन् २०१५ मा काठमाडौ उपत्यकाका ७६ जनामा हैजाको जीवाणु भेटिएको थियो भने सन् २०१६ मा १५० जनालाई हैजा भएको थियो । त्यसैलाई मध्यनजर गर्दै युनिसेफले विभिन्न संघसंस्थाको सहकार्यमा हैजा नियन्त्रणका लागि पूूूर्व तयारी अपनाउन बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
युनिसेफले सन् २०१७ मा हैजाको जोखिममा रहेका समुदायको पहिचान गरेको थियो । त्यसपछि पानीको परीक्षण सचेतनामूलक कार्यक्रममा जनसहभागिता बढाउने, क्षमता अभिवृद्धि गर्ने र निजी तथा पानी विक्रेताहरुको सहभागिता बढाउने काम पनि गर्दै आएको छ ।
पछिल्लो तथ्यांकले काठमाडौ उपत्यकामा हैजाको विरामी कम हुँदै गएको देखाएको छ । सन् २०१७ मा २ जना र सन् २०१८ मा ३ जना व्यक्तिमा मात्र हैजा भेटिएको छ ।
हैजा तथा पानीजन्य रोगको उच्च जोखिममा रहेका काठमाडौ उपत्यकाका ७ वटा नगरपालिकामा हैजा नियन्त्रण सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालित छन् ।


2330 पटक हेरिएको 

