डडेलधुरा : नजिकै सुनखोला बगेको छ । २ किमि दूरीमा रंगुन नदी बग्छ । गाउँमा दर्जन बढी खानेपानी योजना सञ्चालनमा छन् । तर हिउँद नसकिँदै भावर क्षेत्रका बासिन्दाले खानेपानीको जोहो गर्न सास्ती भोग्नुपर्छ ।
‘चुरेमा रूख फँडानी सुरु भयो । काटिएका रूख ढुवानी गर्न जथाभावी सडक बने । त्यसले यस क्षेत्रमा पानीका मुहान सुकेका हुन्,’
चुरे छेउको अर्को बस्ती मेलगाँजामा पनि भावरभन्दा फरक अवस्था छैन । खानेपानीका लागि घन्टौं कुर्नुपर्ने, पालो मिलाएर कुवाबाट पानी भर्नुपर्ने, प्रायस् हरेक दिन बिहान गाउँले सबै जम्मा भएर मात्र पानीका कुवा र नाउलाबाट पानी बाँड्नुपर्ने बाध्यता छ । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।
विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले ठूलो लगानी गरेको आलीतालको नाउली क्षेत्रका बासिन्दाको अवस्था पनि उस्तै छ । ग्रामीण जलस्रोत परियोजना, फन्ड बोर्ड जस्ता खानेपानी क्षेत्रका क्रियाशील संस्थाले लामो समय काम गर्दा पनि यस क्षेत्रका बासिन्दा हिउँद नसकिँदै खानेपानीको संकट भोग्न बाध्य छन् ।
‘हिउँद सकिएकै छैन, अहिले नै पानीको संकट सुरु भइसकेको छ,’ डाँडी कोइरालीका हर्क विष्ट भन्नुहुन्छ ‘वर्षातमा ठाउँठाउँमा पानीका मूल फुटेर सास्ती भोग्नुपर्छ । हिउँद नलाग्दै खानेपानीको जोहो गर्न घरका सदस्यले नियमित पालो दिनुपर्छ ।’
परम्परागत पानीका सबै स्रोत र मुहान सुकिसकेका छन्, चुरेको मथिल्लो भेकबाट सडक निर्माण हुन थालेपछि एक दशकयता चुरे फेदीका बस्तीमा पानी संकट सुरु भएको उहाँले बताउनुभयो । ‘चुरेमा रूख फँडानी सुरु भयो । काटिएका रूख ढुवानी गर्न जथाभावी सडक बने । त्यसले यस क्षेत्रमा पानीका मुहान सुकेका हुन्,’ दह गाउँका धर्म तरामी भन्नुहुन्छ ‘भावर क्षेत्रका प्रायस् सबै गाउँमा दशकयता खानेपानी संकट चुलिएको छ ।’
आलीताल गाउँपालिका र परशुराम नगरपालिकाका भावर क्षेत्रका अधिकांश गाउँमा हिउँद नसकिँदै खानेपानीको संकट आउन थालेको हो । दशकअघिसम्म फागुन र चैतसम्म बग्ने पानीका मूल केही वर्षयता पुस नसकिँदै सुक्न थालेका हुन् ।
योजना निर्माण भएका छन्, घरघरमा पानीका धारा पनि छन् । तर मूल सुक्न थालेपछि स्थानीय खानेपानीको संकट बेहोरिरहेका हुन् । ‘सडक, बिजुली बत्ती, विद्यालय, स्वास्थ्य सेवा सबै छ । तर पानी संकटले बस्ती नै छाड्नुपर्ने बाध्यता छ,’ मलासका देवसिंह रोकाया भन्नुहुन्छ ‘खानेपानीको दीर्घकालीन समाधान नहुँदासम्म यो क्षेत्रमा मानव बस्ती बस्न नसक्ने अवस्थामा पुगेका छन् ।’
खानेपानी योजना र बजेट नभएर यी क्षेत्रमा पानी संकट निम्तिएको भने होइन । हरेक गाउँमा खानेपानीका योजना छन् । परशुराम नगरपालिका र आलीताल गाउँपालिकाले खानेपानीलाई प्राथमिकतामा राखेर योजना बनाएको छ ।
तर पानीका स्रोत सुक्ने, जमिनमुनिबाटै मुहान हराउने, यो वर्ष भेटिएका मुहान अर्को वर्ष नभेटिने जस्ता समस्याले गर्दा भावर क्षेत्रका बासिन्दा खानेपानीको चरम संकट खेप्न बाध्य भएका हुन् । स्थानीय सरकारले मात्र होइन, भावर क्षेत्रमा खानेपानीका लागि काम गर्ने आधा दर्जन बढी गैरसरकारी संस्थाहरू पनि सक्रिय छन् ।
फन्ड बोर्ड, ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना, संयुक्त राष्ट्रसंघीय विभिन्न निकायहरू, स्थानीय तह, नेपाल सरकारको खानेपानी विभाग लगायत दर्जनौं सरकारी तथा गैरसरकारी निकायले भावर क्षेत्रमा खानेपानीका लागि काम गरिरहेको भए पनि समस्या झन्झन् जटिल बन्दै जान थालेको स्थानीयको गुनासो छ ।


1086 पटक हेरिएको 

