काठमाडौं : काठमाडौं उपत्यकामा पानीको कुल मागको एकतिहाइ मात्रै आपूर्ति भइरहेको छ । उपत्यकामा हाल खानेपानीको दैनिक माग ४० करोड लिटर छ ।
तर, सुक्खा मौसममा जम्मा १३ करोड लिटर मात्रै आपूर्ति भइरहेको छ । त्यसको ४० प्रतिशत चुहावट भएर ७ करोड ८० लाख लिटर पानी मात्रै उपभोक्ताको घरसम्म पुग्ने गरेको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का अनुसार हिउँदमा मात्र नभएर वर्षामा पनि पानीको वितरण कम हुने गरेको छ । केयुकेएलले वर्षायाममा समेत जम्मा १६ करोड लिटर वितरण गर्ने गरेको छ ।
खानेपानी वितरणमा ४० प्रतिशत चुहावट रहेको केयुकेएलले जनाएको छ । हाल वितरण भएको मध्ये ५ करोड २० लाख लिटर पानी चुहावट हुने गरेको छ । उपत्यकावासीको घरमा जम्मा ७ करोड ८० लाख लिटर मात्रै पुगिरहेको केयुकेएलका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
उहाँले पुराना पाइप, विकास निर्माण कार्यबाट पुग्ने बाधा, चुहावट नियन्त्रणमा अन्तर निकाय प्राथमिकतामा फरक पर्दा चुहावट नियन्त्रण गर्न नसकिएको तर्क गर्नुभयो । नयाँ वितरण प्रणालीको विकास गरेपछि मात्रै चुहावट १५ प्रतिशतमा सीमित हुने केयुकेएलको दाबी छ ।
तीन बर्षमा चार करोड लिटर वृद्धि
प्रतिवेदन अनुसार केयूकेएलले तीन बर्षमा जम्मा चार करोड लिटर उत्पादन क्षमता मात्र बढाउन सकेको छ । तीन बर्ष अघि हिँदउमा केयूकेएलको उत्पादन क्षमता ९ करोड लिटर मात्रै थियो । तर, अहिले भने १३ करोड लिटर पुगेको छ ।
‘चार करोड लिटर क्षमता वृद्धि गरे पनि त्यसले माग सम्बोधन गर्न तात्विक भिन्नता ल्याउन सकेको छैन । केयूकेएलका महाप्रबन्धक डा। महेशप्रसाद भट्टराईले भन्नुभयो ‘बार्षिक जनसंख्या वृद्धिबाट सिर्जना हुने थप मागको हाराहारीमा मात्रै हाम्रो क्षमता बढेको हो । यसले बितरणमा फरक परेको छैन ।’
वितरणमा समस्या, ४० प्रतिशत चुहावट
केयूकेएलले समानुपातिक प्रणाली अनुसार पानी वितरण गर्न सकेको छैन । कतै हप्ताको दुई पटक र कतै एक पटक मात्रै पानी वितरण भइरहेको छ । ‘अहिले वितरण प्रणाली स्रोतको आधारमा विकास गरिएका छन्, हामीसँग ८ प्रकारका वितरण प्रणाली छन्,’ महाप्रबन्धक भट्टराईले भन्नुभयो, ‘यी प्रणाली आपसमा नजोडिएकाले एकिकृत गर्न सकिने अवस्था छैन । त्यसैले समानुपातिक रूपमा वितरण गर्न सकिएको छैन ।’
केयुकेएलले विभिन्न मुहान र भूमिगत स्रोतबाट पानीको वितरण गर्दै आएको छ । उपत्यकाआसपासका सबै मुहान प्रयोग गर्दा र भूमिगत पानीबाट पनि माग पूरा गर्न नसकिएको केयुकेएलले जनाएको छ । ‘विभिन्न कारणले पानीको सतह स्रोत घट्दै गएका कारण ट्युबेल मात्रैले उपत्यकावासीको माग पूरा गर्न सकिने अवस्था छैन,’ भट्टराईले भन्नुभयो।
केयुकेएलका अनुसार यस वर्ष मात्रै पुराना ट्युबेल फेरेर र नयाँ गाडेर एक करोड लिटर पानी उत्पादन बढाइएको छ । अहिले केयुकेएलले ९ वटा डिप ट्युबेल सञ्चालनमा रहेको जनाएको छ । केयुकेएलले मेलम्चीको पानी उपलब्ध भएपछि दैनिक चार घन्टा पानी वितरण गर्न सकिने जनाएको छ ।
केयुकेएलका अनुसार यस वर्ष मात्रै पुराना ट्युबेल फेरेर र नयाँ गाडेर एक करोड लिटर पानी उत्पादन बढाइएको छ । अहिले केयुकेएलले ९ वटा डिप ट्युबेल सञ्चालनमा रहेको जनाएको छ । केयुकेएलले मेलम्चीको पानी उपलब्ध भएपछि दैनिक चार घन्टा पानी वितरण गर्न सकिने जनाएको छ ।


1089 पटक हेरिएको 

