सुरक्षित खानेपानी आपूर्ति गर्ने सम्बन्धी परियोजना कार्यान्वयन गर्न त्रिपक्षीय सम्झौता

  वास खबर सम्वाददाता  267 पटक हेरिएको

ललितपुरः ललितपुरको गोदावरी नगरपालिका स्थित डुकुछापमा ‘सुरक्षित खानेपानीको अभावमा रहेका दक्षिण एशियाका समुदायहरुका लागि नविनतम पाइप प्रणाली मार्फत खानेपानी आपूर्ति (Driving Innovative Piped Water Supply for Access to Safely Managed Water for Communities affected Water Crisis in South Asia) परियोजना’ कार्यान्वयन गर्न त्रिपक्षीय सम्झौता भएको छ ।

गोदावरी नगरपालिका ८ नं. वडा कार्यालय, डुकुछाप दिगो खानेपानी तथा सरसफाइ उपभोक्ता समिति तथा एकिकृत शहरी विकास केन्द्र बीच परियोजना सञ्चालनका लागि सम्झौता भएको हो । सम्झौतामा गोदावरी नगरपालिकाको तर्फवाट नगर प्रमुख गजेन्द्र महर्जन, ८ नं वडा कार्यालयको तर्फवाट वडा अध्यक्ष सुक वहादुर लामा, उपभोक्ता समितिको तर्फवाट अध्यक्ष ज्ञानेन्द्र के.सी. तथा परियोजना कार्यान्वयन गर्ने एकिकृत शहरी विकास केन्द्रको तर्फवाट कार्यकारी निर्देशक नविन विकास महर्जनले हस्ताक्षर गर्नुभयो ।


गोदावरी नगरपालिकाको वडा नं. ८ मा खानेपानीको समस्यावाट ग्रस्त भएका डुकुछापका समुदायहरुलाई सुरक्षित खानेपानीको समुचित व्यवस्था गर्न कोकाकोला फाउण्डेसन र वाटर एड नेपालको आर्थिक सहयोग रहेको छ ।

गोदावरी नगरपालिकाको स्वच्छ खानेपानीको सुविधा पुर्याउने हेतुले यस आयोजनाको कुल लागत रु. ३ करोड ३७ लाख १६ हजार ८७४ मध्ये स्थानीय जन श्रमदानको तर्फवाट १ करोड ६९ लाख ५१ हजार १५७, गोदावरी नगरपालिकाको तर्फ वाट ८० लाख ९६ हजार ९६६ तथा एकिकृत शहरी विकास केन्द्रको तर्फवाट रु.८६ लाख ६८ हजार ७५१ रहेको छ ।

तालिम मार्फत समुदायलाई क्षमता आभिवृद्धि गर्ने, समुदाय स्तरमा स्वास्थ्यकर कार्यक्रम संचालन गर्ने, खानेपानी आपूर्ति प्रणालीको सम्पति व्यवस्थापन योजना तयार गर्ने तथा केही आवश्यक खानेपानीका पूर्वाधारहरु निर्माण गरि समुदायलाई हस्तान्तरण गर्ने परियोजनाको प्रमुख उद्देश्य रहेको एकिकृत शहरी विकास केन्द्रका कार्यक्रम संयोजक शिव श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यशाला गोष्ठीको प्रमुख अतिथि तथा कार्यक्रमको अध्यक्षता गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले गर्नुभयो । परियोजना सफल पार्न नगरपालिकाबाट आवश्यक सहयोग रहने उहाँले बताउनुभयो ।

एकीकृत शहरी विकास केन्द्रका कार्यकारी निर्देशक नविन विकास महर्जनले परियोजना समयमा पुरा गर्न सवैको समन्वय र सहयोग रहने अपेक्षा गर्नुभयो ।
त्यस्तै वाटर एडका तर्फवाट कार्यक्रम व्यवस्थापक सर्वज्ञ श्रेष्ठ तथा वाटर एडका नीति तथा पैरवी प्रमुख सीमा रजौरियाले महिलाहरुलाई शसक्तिकरण गर्नु पर्नेमा जोड दिनुभयो ।


गोदावरी नगरपालिकामा खानेपानीको सहज र सुलभ बनाउने, महिलाहरुलाई यस क्षेत्रमा अगुवाई गर्न कार्यक्रम तयार गर्ने र खानेपानी क्षेत्रमा आवश्यक वजेट नगरपालिकाले उपलव्ध गराई डुकुछाप खानेपानी योजनालाई सफल गराउन आफ्नो दरिलो पहल हुने नगर प्रमुख महर्जनलेले बताउनुभयो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार