यसरी हुदैछ, वीरगन्जमा ल्याण्डफिल साइट निर्माणको काम

वीरगन्ज : वीरगन्ज शहरको फोहोर व्यवस्थापनका लागि ल्याण्डफिल साइटको काम धमाधम भइरहेको छ । चिनियाँ ठेकेदार कम्पनी जेडआईसीले साइटको माटो भर्ने, पोखरी खन्ने, नदी नियन्त्रण गर्ने, विद्युत जडान, खानेपानीको काम गरिरहेको र भौतिक निर्माणको काम करिब २५ प्रतिशत पूरा भएको कम्पनीका प्रतिनिधि सुमित रौनियारले बताउनुभयो ।

उहाँका अनुसार कम्पाउन्ड वाल र ७ वटा भवन निर्माणको काम पनि सँगसँगै भइरहेको छ । वीरगन्ज उपमहानगरपालिकाको पूर्वी सीमानामा जोडिएको बाराको इटियाही र विश्रामपुरमा १६ बिघा जग्गा अधिग्रहण गरी ल्याण्डफिल साइटको काम भइरहेको छ । सम्झौता अनुसार सन् २०१८ को अप्रिल भित्र साइट निर्माणको काम सम्पन्न गर्नुपर्नेछ ।

ल्याण्डफिल साइट निर्माणका लागि करिब ५२ करोड रुपैयाँ लाग्नेछ । ती मध्ये ८४ प्रतिशत एसियाली विकास बैंक तथा सरकारले र बाँकी १६ प्रतिशत नगर विकास कोष र उपमहानगरपालिका कार्यालयले व्यहोरेको छ । साइटसम्म फोहोर ढुवानीको लागि गण्डकदेखि करिब ८ किलोमिटर पक्की सडक निर्माणको काम पनि भईरहेको छ ।

दैनिक ८० टन फोहोर उत्पादन

औद्योगिक नगरी पर्साको वीरगन्जमा दैनिक ७० देखि ८० टन फोहोर उत्पादन हुदै आएको छ । ल्याण्डफि साइट नहुँदा वीरगन्ज उपमहानगरपालिकामा उत्पादित फोहोर सिर्सिया खोलाकिनार तथा शहरका विभिन्न भागमा अव्यवस्थित तरिकाले विसर्जन गरिरहेको छ ।

बढ्दो शहरीकरणले फोहोरमैला व्यवस्थापन गर्न मात्र उपमहानगरपालिकाले अहिले पनि करिब ४० प्रतिशत बजेट फोहोरमैला व्यवस्थापनमै खर्च गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार