काठमाडौँ : तपाई अरुको आँखा छलेर वाग्मती नदीमा फोहोर फ्याँक्दै हुनुहुन्छ ? नदीमा ढल पो मिसाउँदै हुनुहुन्छ कि ? एकैछिनका लागि तपाईले अरुको आँखा त छल्न सक्नुहोला तर ड्रोन क्यामेरालाई छल्न सक्नुहुन्न । किनकि नदी किनारमा फोहर फाल्ने, ढल मिसाउने र नदी आसपासको जग्गा मिच्नेको गतिविधि अब ड्रोन क्यामेराले निगरानी गर्न थालेको छ ।
दक्षिण कोरियाको सियोल विश्वविद्यालयबाट आएका पाइलट पिटर पार्क र जिजुन फङ नेतृत्वको समूहले गोकर्णेश्वर नगरपालिकाको उत्तरगयादेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म फोहर फाल्ने, ढल मिसाउने र सार्वजनिक जग्गा मिच्नेको फोटो ड्रोन क्यामेराबाट खिच्न थालिएको हो ।
सरकारबाट स्वीकृति लिएर गोकर्णेश्वर नगरपालिकाको उत्तरबाहिनीदेखि गोकर्णेश्वर मन्दिरसम्म एउटा समूहले, काठमाडौँ महानगरपालिकाको सिनामङ्गलदेखि मीनभवनसम्म अर्को समूहले र काठमाडौँ महानगरपालिकाको टेकुपुलदेखि ललितपुर उपमहानगरपालिकाको सुन्दरीघाटसम्म तेस्रो समूहले ड्रोन क्यामेरा मार्फत फोटो खिचिरहेको वाग्मती सरसफाइका अभियन्ता शम्भु उप्रेतीले जानकारी दिनुभयो ।
जथाभावी फोहोर फाल्ने, नदीमा ढल मिसाउने र जग्गा अतिक्रमण गर्नेको फोटो आवश्यक कार्वाहीका लागि सहरी विकास मन्त्रालय, खानेपानी तथा सरसफाइ मन्त्रालय, अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, सम्बन्धित नगरपालिकामा बुझाइने छ । फोटोको आधारमा सम्बन्धित नगरपालिकाले आवश्यक कार्वाही अघि बढाइने जनाएको छ ।