डडेलधुरा १० चैत्र । उग्रतारा सार्वजनिक यातायात समितिले चर्पी सहितको बस सेवा शुरु गरेको छ । समितिले डडेलधुरा – काठमाडौका लागि आधुनिक सेवा सहितको वातावरण अनुकुलित ‘एयर सस्पेन्सन’ एसी बस सञ्चालनमा ल्याएको हो ।
आजदेखि सेवा शुरु गरेको बसमा चर्पी जडित भएकाले रातीको समयमा दिसापिसाब गर्न बाहिर निस्किरहनु पर्ने समस्या हल हुने उग्रतारा सार्वजनिक यातायात समितिका अध्यक्ष सन्तोष खड्काले बताउनुभयो । ‘चर्पी नहुँदा बस चालकले जहाँ रोक्यो त्यही निस्केर दिसापिसाब गर्नुपर्ने बाध्यता थियो, यात्राका क्रममा पनि पुरुषलाई भन्दा महिलालाई बढी समस्या हुन्थ्यो अब त्यस्तो समस्या हुने छैन’ अध्यक्ष खड्काले भन्नुभयो ‘बसका यात्रुले जथाभावी दिसापिसाब गर्दा वातावरण समेत प्रदुषण भइरहेको थियो, चर्पी सहितको बसले खुल्ला दिसामुक्त अभियानलाई समेत सघाउ पुग्नेछ ।’
देशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने अभियानमा रहेकाले ३८ वटा जिल्ला खुल्ला दिसामुक्त भइसकेका छन् । राजमार्गमा सार्वजनिक शौचालयको पर्याप्तता नहुँदा सार्वजनिक यातायातका यात्रु खुल्ला दिसामुक्त क्षेत्रमा पनि खुल्ला दिसा गर्न बाध्य छन् ।
बसमा चर्पी सँगै चमेनागृहको पनि व्यवस्था गरिएको छ । झण्डै आठ सय किलोमिटर दुरी रहेको डडेलधुरा–काठमाडौ चल्ने बसमा यस्तो सेवा देशमै पहिलो पटक भएको अध्यक्ष खड्काको दाबी छ ।
दुई हजार रुपैयाँ भाडा तोकिएको सुविधासम्पन्न बस दैनिक एक÷एक वटा छुट्ने बताइएको छ । अहिले यस्ता किसिमका छ वटा बस सञ्चालनमा ल्याएको उग्रतारा सार्वजनिक यातायात समितिले जनाएको छ ।


897 पटक हेरिएको 

