वाग्लुङ १३ चैत्र । बाग्लुङको बिजौलेमा निर्मित चर्पी पानीको अभावमा प्रयोगविहीन भएका छन् । पानी अभावमा बिजौलेका अधिकांश परिवार खुला ठाउँमा दिसा गर्छन् । गाउँमा करिब ५० घर दलित समुदायको बसोबास छ ।
६१ वर्षका प्रमाण सुनार भन्नुहुन्छ ‘चर्पी बनाएको छ बर्षदिन भयो, तर पानी अभावले खुला ठाउँमा दिसा गर्न बाध्य छौं, हामी बूढाबूढीलाई खानेपानी लिन जान समेत समस्या छ, एक घण्टा लगाएर ल्याएको पानीले चर्पी पखालेर कसरी पु¥याउने ?’
‘खुला दिसा गर्दा वातावरण प्रदुषण हुने कुरा थाहा हुँदाहुदै खुला दिसा गर्नुपरेको बाध्यता रहेको सुनारले बताउनुभयो । बोबाङ–५ कालाकोलका १८ घरपरिवार, बोबाङ–४ पखेराका करिब ३ सय घरधुरी मध्ये अधिकांशले खुला दिसा गर्दै आएका छन् । घरघरै चर्पी भएर पनि पानीकै समस्याले खुला ठाउँमा दिसा गर्नुपरेको कालाकोलका लालबहादुर विकले बताउनुभयो ।
केही परिवारले भने ४५ मिनेट टाढाको जुगेपानी मुहानबाट पानी ल्याएरै चर्पीको प्रयोग गर्दै आएका छन् । तर बहुसंख्यकले खुला दिसा गरेका कारण गाउँमा दुर्गन्ध फैलिएको कालाकोलका देवबहादुर सुनारले बताउनुभयो ।
‘पानीको व्यवस्था गरेर चर्पी प्रयोग गर भनेर अरुलाई पनि भनेका छौं, मान्ने होइन, कतिका लागि पानी ओसारेर चर्पीमा प्रयोग गर्नु असम्भव पनि छ ।’ पानी अभाव हटेमा खुला ठाउँमा दिसा गर्नुपर्ने बाध्यता हट्ने सुनारले बताउनुभयो ।