काठमाडौ १७ जेठ । खुला दिसामुक्त गर्नुछ २०१७ भित्र, सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व भन्ने मूल नाराका साथ अठारौं राष्ट्रिय सरसफाइ सप्ताह विभिन्न कार्यक्रमहरुको आयोजना गरी मनाइने भएको छ । यही जेठ २२ देखि २८ सम्म मनाइने सरसफाइ सप्ताहमा स्थानीय तथा केन्द्रीय तहमा छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरिएको छ ।
राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार यातायात व्यवसायी, दिसाजन्य लेदो संकलन तथा विसर्जन गर्दै आएका ट्याङकर व्यवसायी, नगरपालिकाका वातावरण विभाग प्रमुखहरु र सञ्चार माध्यम लगायतका लागि फरक फरक कार्यक्रमको आयोजना गरिएको छ ।
यी हुन् सरसफाइ सप्ताहका मुख्य कार्यक्रमहरु :
जेठ २२ गते — खानेपानी र सरसफाइ : आवश्यकता र महत्व विषयक अन्तरक्रिया कार्यक्रम विहान ११ बजेदेखि २ बजेसम्म खानेपानी तथा ढल निकास विभागले गर्ने ।
जेठ २३ गते — यातायात व्ववसायीहरु सँग वातावरणीय सरसफाइ र यातायात क्षेत्रको दायित्व विषयक छलफल कार्यक्रम
जेठ २४ गते – काठमाडौ उपत्यका भित्रका दिसाजन्य लेदो उठाउने ट्याङकर व्यवसायीहरुसँग दिसाजन्य लेदो व्यवस्थापन : वर्तमान चुनौती र सम्भावनाहरु विषयक छलफल कार्यक्रम (वातावरण र जनस्वास्थ्य संस्था एन्फोको कार्यालयमा)
जेठ २५ गते – काठमाडौ उपत्यकाका नगरपालिकाहरुको वातावरण शाखा, विभाग प्रमुखहरुसँग ‘काठमाडौं उपत्यकामा सार्वजनिक शौचालयको वर्तमान अवस्था बारे छलफल तथा अन्तरक्रिया कार्यक्रम (वाटर एड नेपाल/खानेपानी ढल निकास विभाग )
जेठ २६ गते – टेलिभिजनमा सरसफाइ सम्बन्धी विज्ञहरुसँग वहस गर्ने
जेठ २७ गते — धादिङ, ललितपुर र भक्तपुरमा स्थानीय तह (गाउँपालिका, नगरपालिकाका ) का प्रमुख तथा उपप्रमुखहरु सँग खानेपानी र सरसफाइ सम्बन्धी अन्तरक्रिया कार्यक्रम (खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ/खानेपानी तथा ढल निकास विभाग)
जेठ २८ गते — पत्रकार महासंघको अगुवाइमा पूर्ण सरसफाइ अभियान र हाम्रो दायित्व विषयमा अन्तरक्रिया कार्यक्रम गर्ने (पत्रकार महासंघ /खानेपानी विभाग )
यसका साथै सरसफाइ र चर्पी निर्माण सम्बन्धी विज्ञापन प्रचारप्रसार (राष्ट्रिय टेलिभिजनहरु तथा एफएम रेडियोहरुबाट । छापाहरुमा प्रचार सामग्रीहरु प्रकाशन गर्ने, मुख्य राजमार्गहरुमा सरसफाइ सन्देश सहित होर्डिङ बोर्डहरु राख्ने, सबै स्थानीय तहमा निर्वाचत पदाधिकारीहरुमा बधाइ तथा खानेपानी तथा सरसफाइ सम्बन्धी स्मरण पत्र प्रेषित गर्ने, जिल्ला जिल्लामा जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रमहरुको आयोजना गर्ने, स्थानीय रेडियोहरुबाट प्रचार सामग्रीहरु प्रसारण गर्ने, विद्यालयहरुमा कार्यक्रम सञ्चालन गर्ने र जिल्ला स्थित कार्यालयहरुको शौचालयको सरसफाइको अवस्था मूल्याङ्कन गर्ने काम पनि सँगसँगै हुने राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव प्रेमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।