काठमाडौ २६ जेठ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको पाइप बिच्छ्याउने काम तीव्र गतिमा अगाडि बढेको छ ।
उपत्यकावासीलाई असोजभित्र खानेपानी खुवाउने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ । उपत्यकाभित्र पानी पु-याउनका लागि ६७० किलोमिटर पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ५८५ किमी क्षेत्रमा पाइप बिच्छ्याइसकिएको मेलम्ची खानेपानी आयोजना–२, आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना प्रमुख तिरेश खत्रीले जानकारी दिनुभयो ।
मेलम्चीबाट सुरुङ हुँदै सुन्दरीजल आउने पानी सुन्दरीजलमा प्रशोधन भइसकेपछि उपत्यकाका विभिन्न ११ ट्याङ्कीबाट नागरिकको घर घरमा पु-याइने व्यवस्था मिलाइएको छ ।
आरुबारी, महाङ्काल चौर, पानीपोखरी, बाँसबारी, बालाजु, खुमलटार, कटुन्जे, कीर्तिपुर र ठिमीमा नयाँ ट्याङ्की तथा अनामनगर र मीनभवनमा रहेको पुरानो ट्याङ्कीबाट पानी वितरण गरिनेछ । नयाँ बन्न लागेका नौवटा ट्याङ्की तथा पुराना दुईवटा ट्याङ्कीमा पानी पु-याउन ६१ किमी पाइप बिच्छ्याउनुपर्ने भए पनि हालसम्म ४९ किमी पाइप बिच्छ्याइएको प्रमुख खत्रीले बताउनुभयो ।
नयाँ बन्न लागेका नौवटा ट्याङ्कीमध्ये पाँचवटा निर्माण सम्पन्न भएका, तीनवटाको २० प्रतिशत काम भएको र एउटा ट्याङ्कीको निर्माण कार्य असारदेखि सुरु हुने आयोजनाले जनाएको छ ।
यसैबीच मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ ।
आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ ।
सुरुङबाट निस्किएको माटोढुङ्गा ठेकेदार कम्पनी सिएमसीले जथाभावी खोलामा फाल्न थालेको छ । यसरी मकिङ खोलामा फाल्न थालेपछि त्यस आसपासका बासिन्दा बर्खामा खोला थुनिएर बगाउला कि भन्ने त्रासमा छन् । स्थानीयवासी आशा गुरुङको सुरुङबाट निस्किएको माटोढुङ्गाको थुप्रोले घरै पुरिने खतरा रहेको बताउनुहुन्छ ।
सुरुङ निर्माणको काम छिटोे सक्ने बहानामा ठेकेदार कम्पनी सिएमसीले अव्यवस्थित रुपमा खोलाको मध्य भागसम्म पुग्नेगरी माटोढुङ्गाको पहाड बनाएको छ । यसरी बनेको पहाडमा बर्खामा आउने बाढीले खोला थुनिए किउल, ग्याल्थुम, तालामाराङ र मेलम्चीका स्थानीयवासीलाई प्रभावित गर्नेछ ।
आयोजनाका कारण घरमै पुरिएर मरिने भन्ने त्रास रहेको स्थानीयवासी निमा लामा शेर्पा बताउनुहुन्छ । सुरुङ निर्माणस्थलबाट निस्केका माटोढुङ्गाको उचित व्यवस्थापनको विषयमा स्थानीयस्तरबाट पनि आवाज उठेका छन् तर हेलम्बु गाउँपालिका–१ को वडाध्यक्षमा नवनिर्वाचित मिङमार लामासहितको टोलीलाई आयोजनाले सुङङभित्र जान दिएको थिएन ।
वडाध्यक्ष लामा भन्नुहुन्छ, ‘स्थानीयवासीलाई आयोजनाका कारण उत्पन्न त्रास हटाउन ठेकेदार पक्ष गम्भीर हुनुपर्छ । त्यसका लागि सबै लाग्न आवश्यक छ ।’
आदित्य दाहाल, रासस