काठमाडौ : काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले पानीको वर्गीकरण गरी स्टिकर दिएका मध्ये १४ ट्याङकरलाई मात्र पिउन योग्य पानीको स्टिकर अर्थात नीलो रङको स्टिकर दिइएको छ ।
अहिलेसम्म ४ सय २१ वटा ट्याङ्करलाई स्टिकर दिएकोमा सबैभन्दा बढी हरियो रङ्का छन् । हरियो रङको स्टिकर पाएका ट्याङ्करको पानी उमालेर वा घरेलु विधिबाट प्रशोधन गरेर पिउन सकिन्छ ।
पिउने बाहेकको प्रयोजनका लागि भने पहेलो रङ्गको स्टिकर दिइएको काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीव विक्रम राणाले बताउनुभयो ।
बोर्डले ट्याङ्कर कर सेवा संचालन सम्बन्धि निर्देशिका २०७३ बमोजिम ट्याङकरबाट वितरण गरिने पानीलाई वर्गीकरण गरी स्टिकर टाँस्न थालेको हो ।
वैशाख ५ गतेदेखि स्टिकर टाँस्न थालेको बोर्डले अहिले ४ सय २१ वटा ट्याङकरलाई स्टिकर प्रदान गरिएको छ । कार्यकारी निर्देशक राणाका अनुसार ४० वटा ट्याङ्कर स्टिकर लिने प्रक्रियामा छन् भने पानी विक्रीवितरणमा प्रयोग भइरहेका ६० वटा जत्ति ट्याङ्कर प्रक्रियामा आउन बाँकी रहेको छ ।
पिउन योग्य र अयोग्य पानी एउटै टैंकरबाट ढुवानी गर्दा पिउन योग्य पानी पनि दुषित भएर मानव स्वास्थ्यमा समस्या देखिन थालेकाले बोर्डले चार महिना अघि स्टिकर वितरण गर्न थालेको हो ।