बजेट अभाव हुँदा सिउरीखोला लिफ्ट खानेपानी योजना अलपत्र

रामेछाप : बजेट अभाव हुँदा रामेछाप नगरपालिका वडा नं. ९ भीरपानीमा निमार्णाधीन सिउरीखोला लिफ्ट खानेपानी योजना अलपत्र परेको छ ।

योजनाको इनार निर्माण, ट्याङ्की निर्माण र मेन लाइनको पाइप पुर्ने काम सकिए पनि वजेट अभावले विद्युतको ट्रान्सफर्मर खरिद र शाखा लाइन विस्तार हुन नसकेको सिउरीखोला लिफ्ट खानेपानी उपभोक्ता समितिका अध्यक्ष पूर्णवहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको ३६ लाख रुपैयाँ अनुदान र उपभोक्ताको २३ हजार रुपैयाँले यत्ति काम सम्पन्न भएको श्रेष्ठले बताउनुभयो ।

भीरपानीका उपभोक्ताले यसवर्षको दशै अघि नैै पानीको धारा घरघरमा पु-याउने लक्ष्यका साथ ८० घरले घरैपिच्छे ५ सयका दरले रकम समेत संकलन गरी योजनाको काम शुरुवात गरेका थिए । निर्माणाधीन योजनाको काम नसकिदै रकम अभाव भएपछि खानेपानी योजना बीचैमा अलपत्र रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘विद्युत लाइनको लागि मात्रै १७ लाख रुपैयाँ लाग्ने भनेको छ, यो रकम कहाँ बाट ल्याउने ? उपभोक्ताले यो भन्दा बढी रकम संकलन गर्न सक्ने अवस्थामा पनि छैन, हामी स्रोतको खोजीमा छौं’ श्रेष्ठले भन्नुभयो । असोज महिनाभित्रै सबै काम सक्ने लक्ष्य भएतापनि बजेट अभावका कारण समस्या उत्पन्न भएको उहाँले बताउनुभयो । ‘कसैले थप लगानी गरिदिए हामी खुसी हुने थियौं’ उहाँले भन्नुभयो ।

योजना सम्पन्न गर्न लाग्ने बजेटको व्यवस्थापन गर्न समिति लागि परेको अध्यक्ष श्रेष्ठले बताए । रामेछाप भीरपानीका बासिन्दाले बर्षौदेखि खानेपानीको समस्या झेल्दै आएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार