
दोलखा : चरिकोटस्थित विकेन्द्रित फोहोरपानी प्रशोधन केन्द्र (डिवाट्स) सञ्चालनमा ल्याउने तयारी गरिएको छ। खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतको सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, आयोजना व्यवस्थापन कार्यालय विभाग मार्फत निर्माण गरिएको उक्त आयोजना अब सञ्चालनको चरणमा पुगेको हो।
एशियाली विकास बैंकको ऋण सहायतामा निर्माण गरिएको यो प्रणाली चरिकोट बजार सहित भिमेश्वर नगरपालिकाको वडा नम्बर ३, ४ र ६ का बजार क्षेत्रलाई लक्षित गरी स्थापना गरिएको हो। आयोजना सम्पन्न भइसके पनि हालसम्म सबै घरधुरी पाइप नेटवर्कमा नजोडिँदा पूर्ण रूपमा सञ्चालनमा आउन सकेको थिएन।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, मन्थलीका प्रमुख राजेन्द्र श्रेष्ठका अनुसार अब छुटेका घरधुरीलाई समेत पाइप नेटवर्कमा जोडेर डिवाट्स सञ्चालनमा ल्याउने तयारी भइरहेको छ। “आयोजना सम्पन्न भइसकेको छ, तर सबै घर जोडिएका छैनन्। अब छुटेका घरलाई पनि समेटेर प्रणाली सञ्चालनमा ल्याउने योजना छ,” उहाँले भन्नुभयो।
यसका लागि भीमेश्वर नगरपालिकाले कार्यपालिका बैठकबाट निर्णय गरिसकेको र अब छुटेका सबै घरधुरी पाइप नेटवर्कमा जोड्ने कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो। ‘फोहोरपानी प्रशोधनका लागि आवश्यक सबै संरचना तयार भैसकेको छ, सबै घरधुरीको ढल प्रशोधन प्रणालीको पाइप नेटवर्कमा जोडिन साथ सञ्चालनमा ल्याईनेछ’ उहाँले भन्नुभयो।
७२ करोड रुपियाँ लागत अनुमान गरिएको भीमेश्वर नगरपालिका वडा नं. ३, ४ र ६ मा ढल निर्माण गर्न तथा दुई अत्याधुनिक ढल प्रशोधन केन्द्र निर्माण गर्न भ्याट सहित ५५ करोड ७३ लाख ८३ हजार ९०८ रुपियाँमा ठेक्का लगाइएको थियो ।

दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी ११ जुलाई २०२१ मा चिनियाँ कम्पनी जीवाईईसीएल/भीमेश्वर ड्रिलिङ तथा निर्माण सेवा जेभीसँग सम्झौता भएको थियो । आयोजना सञ्चालनमा आएपछि चरिकोट क्षेत्रमा फोहोरपानी व्यवस्थापनमा सुधार भई सरसफाइ तथा वातावरणीय अवस्थालाई टेवा पुग्ने अपेक्षा गरिएको छ।



364 पटक हेरिएको 

