काठमाडौ : खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले विश्व हात धुने दिवस भव्यताका साथ मनाइने भएको छ । विश्व हात धुने दिवस अक्टोबर १५ तारिखका दिन विभाग र महासंघले अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरी विश्व हात धुने दिवस मनाउने भएको हो ।
खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइका शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठका अनुसार खानेपानी तथा सरसफाइ सचिव कृष्ण राज विसीको प्रमुख आतिथ्यमा हुने अन्तरक्रियात्मक कार्यक्रममा खानेपानी तथा ढल निकास विभाग, युनिसेफ र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (फेडवासन) ले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नेछन् ।
उहाँका अनुसार विभागले खानेपानी तथा सरसफाइको अवस्थाका विषयमा पुनरावलोकन, युनिसेफले नेपालमा हात धुने अभ्यास र महत्व र फेडवासनले नागरिक समाजको भूमिका, प्राप्ति र खुला दिसामुक्त अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछ ।
यसबर्षको नारा Our Hands, Our Future राखिएको छ । हात धुने बानीको विकास गर्न र यसको महत्वका विषयमा बुझाउन हरेक बर्षको अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईदै आएको छ ।
संयु्क्त राष्ट्रसंघको आव्हानमा नेपालले सन् २००८ देखि यो दिवस मनाउन थालेको हो । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रले सन् २०१४ मा गरेको अध्ययनले १३ प्रतिशत नेपालीले मात्र मात्र राम्रो सँग हात धुने गरेको देखाएको छ ।
सरसफाइ विज्ञका अनुसार खाना खानु भन्दा अघि, खाना बनाउनु भन्दा अघि, बच्चालाई खाना ख्वाउनुभन्दा अघि, चर्पीबाट आएपछि, बच्चाको दिसा धोएपछि र फोहोर चीज छोएपछि साबुन पानीले मिचीमिची हात धुनुपर्छ ।