काठमाडौ : आज अक्टुबर १५ तारिख, विश्व हात धुने दिवस विश्वभर मनाईदैछ । नेपालमा पनि खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील गैरसरकारी तथा सरकारी कार्यालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाइरहेका छन् ।
संयु्क्त राष्ट्रसंघको आव्हानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउँदै आएको छ । नेपालमा १३ प्रतिशत मानिसले मात्र राम्रो सँग हात धुने गरेको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रले सन् २०१४ मा गरेको अध्ययनले देखाएको छ ।
नेपालमा झाडा पखालाबाट मृत्यु हुने मध्ये ८८ प्रतिशतको मृत्यु सरसफाइ र खानेपानीको अभाव तथा ठीक सँग हात नधोएकै कारणले हुने गरेको छ । विश्वका ३० वटा अध्ययनले सावुन लगाएर हात धुनाले झाडापखालाको समस्या झण्डै ५० प्रतिशतले घट्ने देखाएको छ
दिवसको अवसरमा खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको संयुक्त आयोजनामा अर्याल इन्टरनेशनल होटेल नयाँ वानेश्वरमा अन्तरक्रिया कार्यक्रम हुदैछ ।
दिउँसो १ बजेदेखि ५ बजेसम्म हुने कार्यक्रममा विभागले खानेपानी तथा सरसफाइको अवस्थाका विषयमा पुनरावलोकन, युनिसेफले नेपालमा हात धुने अभ्यास र महत्व र फेडवासनले नागरिक समाजको भूमिका, प्राप्ति र खुला दिसामुक्त अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्नेछ ।
यसबर्षको नारा Our Hands, Our Future राखिएको छ ।
खाना बनाउनुअघि, खाना खानु र खुवाउनु अघि, दिशा धोएपछि तथा फोहोर कुराहरु छोएपछि र हाच्छियु गरेपछि वा खोकेपछि साबुन पानीले हात धुनुपर्छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हात यसरी धुनुपर्छ
१. हातलाई पानीले राम्ररी भिजाउने र अगाडी पछाडी दुवैतर्फ साबुन दल्ने
२. दुवै हातलाई एक आपसमा दल्ने र साबुन हातको अगाडि पछाडी पुरै फिजाउने
३. दाहिने हातलाई देव्रे हातमाथि राख्ने र औंलाहरुको बिचमा पनि पर्ने गरि दल्ने र यही प्रक्रिया देव्रे हातमा पनि गर्ने
४. दुवै हात जोडेर औंलाहरूको बीचमा सफा गर्ने
५. दुई हातलाई एक आपसमा मुट्ठी पारेर कस्ने र औंलाको पछाडीको भाग सफा गर्ने
६. दाहिने बुढी औलालाई देव्रे मुठ्ठीले समात्ने अनि सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने
७. देव्रे औंलाको टुप्पोहरुले दाहिने हातको हत्केला सफा गर्ने र अर्को हातमा पनि दोहोर्याउने
८. सफा पानीले हात पखाल्ने र सफा रुमालले पुछ्ने