लुम्बिनी र पोखरामा शौचालय सहितको बस सेवा शुरु

काठमाडौ, लिखित बराल : काठमाडौबाट लुम्बिनी र पोखराका लागि शौचालय र रेष्टुँरा सहितको बस सेवा शुरु भएको छ । २०७४ बैशाखमा ४ वटा बसबाट सेवा शुरु गरेको नेपाल बस सर्भिस प्रालिले आइतबार देखि थप ५ वटा बस सन्चालनमा ल्याएको हो ।

बसभित्रै शौचालयको व्यवस्था भएपछि यात्रुका कारण बाहिर हुने फोहोर नियन्त्रणमा आउने प्रालिले जनाएको छ । ‘दिसापिसाब बसभित्रै गरेपछि बाहिर फोहोर भएन, यात्रुले खानेकुरा खाएर झ्यालबाट बाहिर फ्याँक्ने गर्थे, बसभित्रै रेष्टुँरा सञ्चालन भएपछि ती फोहोरको व्यवस्थापन गर्ने जिम्मा पनि हाम्रै हुन्छ, यसले वातावरण प्रदुषण पनि हुन पाएन’ प्रालिका निर्देशक दीपक भट्टराईले भन्नुभयो ।
पर्यटकलाई लक्षित गरी सञ्चालन गरिएका ९ वटा बसमध्ये ६ वटा बस पोखरा र तीन वटा लुम्बिनीका लागि सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो ।

२२ सीट क्षमता रहेको बसमा प्रिमियम थाइरेस्ट सोफासिट राखिएको छ । पोखरा जाने विदेशी पर्यटकका लागि खाना सहित २५ डलर र स्वदेशी पर्यटकका लागि २० डलर भाडा निर्धारण गरिएको प्रालिले जनाएको छ ।

अहिले काठमाडौबाट लुम्बिनी र पोखरामा मात्र सञ्चालन भइरहेको बसको संख्या थप गरी आगामी दिनमा सौराह र जनकपुरमा पनि सञ्चालन गरिने प्रालिका निर्देशक दीपक भट्टराईले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार