काठमाडौ : नेपालीहरुको दुईवटा ठूला चाडपर्व विदा भएर गइसकेको छ । तिहारले भर्खरै विदा लिएपनि तिहारका खानेकुरा, भाँडाकुँडा तथा भुँइमा पोखिएका टीका अझै बाँकी नै छन् ।
भाइटीकामा प्रयोग हुने रंग, खानेकुरा भुँईभरि पोखिएको भए सफा गर्न गाह्रो हुन्छ । टीका लगाउँदा र खानेकुरा खाँदा उत्पादन हुने फोहोर व्यवस्थापन गर्ने उपाय खोजिरहनुभएको छ ? हामी तपाईलाई यसविषयमा जानकारी गराउँदैछौं ।
यसरी गरौं घरको सफाइ
घरका झ्याल–ढोका, दराज, सिसा लगायतको धुलो सफा गर्नुहोस् । यसका लागि भिजेको कपडा प्रयोग गर्नु राम्रो हुन्छ । भिजेको कपडाले धुलो टिप्ने भएकाले सफा पानीमा भिजाएको सफा कपडाको प्रयोग गर्नु उत्तम हुन्छ ।
घरभित्रदेखि बाहिरसम्म कुचोले बढार्नुहोस् । कमसल वा भाँचिएको कुचोले सफाइ गर्दा कुचो आफै भाँचिएर भुइँमै अड्किने भएकाले मजबुत र राम्रो कुचोको प्रयोग गर्नु राम्रो हुन्छ ।
पक्की घर छ भने सफा कपडा र पानीको प्रयोग गर्नुहोस् । पोछा लगाउँदा सफा पानी परिवर्तन गर्दै लगाउनुहोस् ।
बाहिर हिडडुल गर्दा जुत्तामा अनेकथरी फोहोर टाँसिएको हुनसक्छ । त्यसैले सकेसम्म जुत्ता बाहिरै राख्नुपर्छ । जुत्ता राख्ने छुट्टै र्यागको व्यवस्था गर्नुहोस् । कोठाभन्दा बाहिर कुनै एउटा बक्स बनाएर सबैका जुत्ता एकै ठाउँमा राख्नु राम्रो हुन्छ । यत्रतत्र जुत्ता छरेर राख्नु हुँदैन । साथै, सुत्ने कोठासम्म जुत्ता पु-याउनु पनि हुँदैन ।
घरको मुख्य ढोकामा धुलो, माटो सोस्ने खालको डोरम्याट राख्नुहोस् । यसले मानिसको खुट्टामा टाँसिएर आउने धुलोमैलो भित्र छिर्न पाउँदैन । भित्र प्रवेश गर्दा डोरम्याटमा खुट्टा पुछपाछ गरेर मात्र जानुहोस् र अरु पनि त्यसै गर्न आग्रह गर्नुहोस् ।
घरभित्र कपाल कोर्दा झरेर कार्पेटमा टाँसिने हुन्छ । त्यसैले कपाल कोर्ने काम बाथ रुम वा घर बाहिर गर्नु नै उत्तम हुन्छ ।
बाथरुमको प्रयोगपछि सफा गर्नुपर्छ । बाथरुमभित्र पानी जम्ने र कीटाणु फैलने भएकाले समय–समयमा त्यसको सफाइ गर्नुपर्छ ।