जनप्रतिनिधिको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्ने

रुकुम : बिद्यालय तथा समुदाय केन्द्रित पूर्ण सरसफाइ कार्यक्रम भइरहेको रुकुममा जनप्रतिनिधिको अगुवाईमा पनि पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

सोमबार भएको अन्तरसंवाद कार्यक्रममा जिल्ला समन्वय समिति रुकुमका बरिष्ठ कार्यक्रम अधिकृत चिन्तामणिा दाहालले जनप्रतिनिधिको अगुवाईमा पनि सरसफाइ अभियान संचालन गर्नुपर्ने बताउनुभयो । सरोकारवालाले विद्यालयको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् । उनीहरुले जनप्रतिनिध, विद्यालय र समुदायको अगुवाईमा पूर्ण सरसफाइ अभियान सञ्चालन गरी सरसफाइलाइ पूर्णता दिनुपर्नेमा जोड दिएका छन् ।

विश्व खाद्य कार्यक्रमको सहयोगमा एकीकृत बिकास समाज नेपालद्धारा रुकुमका १ सय ३८ ओटा प्राथमिक विद्यालयमा पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेको छ । करिव १८ हजार पाँच सय बालबाललिका र अभिभावकलाई पूर्ण सरसफाइ सम्बन्धी कार्यक्रममा सहभागी गराउँदै आएको एकीकृत विकास समाज नेपाल रुकुमका जिल्ला सरसफाइ अधिकृत झनक प्रसाद जोशीले बताउनुभयो ।

बिद्यार्थीले व्यक्तिगत र वातावरणीय सरसफाइका कुरा बुझेपछि घरपरिवार हुदै समाजमा चेतना अभिबृद्धि गर्ने भएकाले बिद्यालय स्तरको कार्यक्रम गरिएको जोशीले बताउनुभयो ।

कार्यक्रममा सरसफाई अभियन्ता तथा रुकुमेली समाज विकास केन्द्रका कार्यक्रम संयोजक नरेन्द्र केसीले तोकिएको समय सीमा भित्र रुकुमको पूर्व र पश्चिमलाई पुर्ण सरसफाइ उन्मुख बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
‘कार्ययोजना बनाएर पूर्वी रुकुम र पश्चिम रुकुमका सबै बिद्यालय तथा स्थानीय तहमा पुग्ने पुग्नुपर्छ’ उहाँले भन्नुभयो ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कुँवरले सबै बिद्यालयले विद्यालय सेवा क्षेत्रमा पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । आफूले यस विषयमा पहल गरिरहेको र बिद्यार्थीबाट समाजले धेरै कुरा अनुशरण गर्ने भएकाले दुवै रुकुमलाई पूर्ण सरसफाइ उन्मुख बनाउनका लागि सबै बिद्यालयले अभियान चलाउन आवश्यक रहेको बताउनुभयो ।

रुकुममा नेपाल रेडक्रस सोसाइटी, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नियो नेपाल, रुकुमेली समाज विकास केन्द्र, जिल्ला समन्वय समिति रुकुम, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति,एसएनभी नेपाल, पहल परियोजना, जनजागरण मञ्च तथा विश्व खाद्य कार्यक्रम र एकीकृत विकास समाज लगायतले पूर्ण सरसफाइ अभियान सञ्चालन गरिरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार