काठमाडौ : सरसफाइका दृष्टिकोणले अति पछाडि रहेका प्रदेश नं. २ का ८ जिल्लालाई अध्यारो जिल्ला भनेर चिनिन थालेको छ ।
केही समय अघि काठमाडौमा आयोजना गरिएको सरसफाइ सम्बन्धी कार्यक्रममा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालय सचिव एवं खानेपानी तथा ढल निकास विभाग, वातावरणीय सरसफाइ शाखाका प्रमुख सिनियर डिभिज्नल इन्जिनियर प्रेमकृष्ण श्रेष्ठले ती जिल्लामा सरसफाइको अवस्था कम भएकाले डार्क डिस्ट्रिक्ट अर्थात अध्यारो जिल्ला भनिएको बताउनुभयो ।
उहाँका अनुसार समग्र ८ जिल्लाको सरसफाइ प्रगति ७८.२ प्रतिशत मात्र रहेको छ । यसमा पनि बाढी र डुबानले क्षति पु-याएको चर्पीको संख्या गणना नगरिएकाले सरसफाइको प्रगति अझ कम हुन सक्ने उहाँले बताउनुभयो ।
डार्क डिस्ट्रिक्टको प्रगति कहाँ कति ?
जिल्ला सरसफाइ प्रगति घरधुरी
पर्सा ७२ % ९५,३४५
बारा ६५ % १,०८,३३४
रौतहट ७५ % १,०६,३४५
सर्लाही ७५ % १,३२,८०३
महोत्तरी ७५% १,११,२९८
धनुषा ७०% १,३८,६३६
सिराह ८७ % १,१७,९२९
सप्तरी ८७ % १,२१,०६४
स्रोत : खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, वातावरणीय सरसफाइ शाखा
प्रदेश नं. ४ र ६ को प्रगति शत प्रतिशत
प्रदेशगत हिसाबले सरसफाइमा प्रदेश नं. ४ र ६ सबैभन्दा अग्र पंक्तिमा छ । सरसफाइमा ती दुवै प्रदेशले १०० प्रतिशत प्रगति हासिल गरेको छ ।
प्रदेश नं. ४ मा गोरखा, लम्जुङ, तनहुँ, स्याङ्जा, कास्की, मनाङ, पर्वत, बाग्लुङ, नवलपरासी (उत्तर) मुस्ताङ र म्याग्दी जिल्ला र ६ मा हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, मुगु, दैलेख, डोल्पा, रुकुम (पश्चिम) सल्यान र सुर्खेत जिल्ला पर्दछन् ।
यस्तै प्रदेश नं. ७ ले ९९.८ प्रतिशत, ५ ले ९७.५ प्रतिशत र ३ नं. प्रदेशले ९३ प्रतिशत र प्रदेश १ ले ९७.५ प्रतिशत नतिजा हासिल गरेको छ ।