धनकुटा, उषा खड्का : खाल्सा छिन्ताङ्ग गाउँपालिकाको वडा नं. ६ डम्फेमा पुग्ने जो कोहीलाई सफा घरआँगनले स्वागत गरिरहे झैं लाग्छ । हरेक घरमा बनाएको शौचालय, फोहोर फाल्ने भाँडा, भाँडा सुकाउने चाङ लगायतले डम्फे गाउँको सभ्यता झल्काएको छ ।
डम्फे गाउँ पहिले यस्तो थिएन, चर्पी बनाउने कुरा गर्दा मुन्टो बटार्थे, बालबालिकालाई स्कुल पठाउन पनि मान्दैनथे, जताततै फ्याँकिएका फोहोरले गाउँ दुर्गन्धित थियो ।
तमुर फाउण्डेसन फ्रान्सको सहयोगमा सन् २०१४ देखि गाउँमा स्वास्थ्य, शिक्षा र वातावरणीय स्वच्छता सम्वन्धी विभिन्न क्रियाकलाप सञ्चालन गरेपछि गाउँको अवस्था बदलिएको हो । कुनै समयको फोहोरयुक्त डम्फे गाउँ अहिले सरसफाइमा नमुनायोग्य भएको छ । डम्फेमा पर्डेप नेपालले पनि खानेपानी र सरसफाइ सम्बन्धी क्रियाकलापहरु सञ्चालन गर्दै आएको छ ।
४० घरपरिवारको बसोबास रहेको डम्फे गाउँमा अहिले जाँड रक्सी जस्ता मादक पदार्थ खान पाइदैन । गाउँका सबैजना व्यक्तिगत र घरायसी सरसफाइमा लागेका छन् । गाउँमा हरेक हप्ता सरसफाइ अभियान सञ्चालन हुने गरेको छ ।
हरेक हप्ता सञ्चालन हुने सरसफाइ शिक्षाले गाउँलेको वानी व्यवहारमा सकारात्मक परिवर्तन आएको र यसले आर्थिक क्षेत्रमा समेत सुधार आएको तमुर फाउण्डेसनका व्यवस्थापक राम कुमार राईले बताउनुभयो ।
उच्च शिक्षा हासिल गर्ने क्रममा लामो समय काठमाडौं बसाईपछि गाउँ फर्केर जाँदा गाउँको सरसफाइको अवस्था निक्कै नाजुक देखेपछि केही गर्ने प्रेरणा जागेको उहाँले बताउनुभयो । ‘यहाँ वातावरणीय स्वच्छताका लागि फोहोरको उचित व्यवस्थापन गर्न मन लाग्यो र गुणस्तरीय शिक्षाका लागि गाउँमै विद्यालय निर्माण गर्ने सोच आयो, विभिन्न निकायको सहयोगले अहिले यो काम पूरा हुने क्रममा छ, शिक्षाको बालबालिकाको पहुँच बढाउन गाउँमै विद्यालय निर्माणको काम पनि गरिरहेको छु’ राइले भन्नुभयो ।