हुम्ला : हुम्ला ४३ औं खुला दिसामुक्त जिल्ला घोषणा हुने भएको छ । क्षेत्रीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति सुर्खेतले अनुगमन तथा प्रमाणीकरण गरेपछि हुम्लालाई आगामी मंसिर १८ गते खुला दिसामुक्त घोषणा गर्ने तय भएको हो ।
साविकका २७ वटै गाउँ विकास समितिका सवै घरमा शौचालय बनाई प्रयोगमा आएकाले जिल्लालाई खुला दिसामुक्त घोषणा गर्न लागिएको जिल्ला स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का सदस्य सचिव एवं खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय हुम्लाका प्रमुख ज्वालाराज शाहीले जानकारी दिनुभयो ।
‘जिल्लाका सबै घरमा शौचालय बनाएर प्रयोग भइरहेको छ, सार्वजनिक स्थान तथा संस्थागत शौचालय पनि बनेका छन्, क्षेत्रीय कार्यालय मार्फत प्रमाणीकरण गरेर चाँडो खुलादिसामुक्त जिल्ला घोषणा गर्न केन्द्रको निर्देशन पनि थियो, त्यसैले आगामी मंसिर १८ गते खुलादिसामुक्त घोषणा गर्ने मिति तय गरिएको हो’ शाहीले भन्नुभयो ।
खुला दिसामुक्त घोषणा कार्यक्रमलाई व्यवस्थित बनाउन डीवाससीसीले विभिन्न उप समिति पनि गठन गरेको छ । हुम्लामा ९ हजार ९ सय २८ घरधुरी छन् ।
प्रदेश नं. ६ को हुम्लामा एसएन्भी नेपालको आर्थिक सहयोगमा SIDC र KIRDARC नेपालले सरसफाइ अभियान सञ्चालन गरिरहेको छ ।