जर्मन : संसारभरका शहरहरुमा सार्वजनिक शौचालय सधैजसो समस्याका रुपमा देखिन्छन् । ती धेरैजसो फोहोर हुन्छन्, बन्द हुन्छन् अथवा असुरक्षित हुन्छन् र सधै सफा राख्न महँगा पनि ।
तर जर्मनीका धेरैभन्दा धेरै शहरमा योा समस्याको समाधान भेटिन थालेको छ । ‘द नाइस् ट्वाइलेट स्कीम’ भन्ने योजनाले सर्वसाधारणलाई शौचालय प्रयोग गर्न दिए बापत शहरका बार, क्याफे र रेष्टुराँहरुलाई ५० देखि १०० युरो सम्म आर्थिक सहायता उपलब्ध गराउन थालेको छ ।
जर्मनको ब्रेमेन शहरमा १०० भन्दा बढी व्यवसायी यो स्वयंसेवी कार्यक्रममा सहभागी भएका छन् । ब्रेमेनमा स्थानीय बासिन्दा र सार्वजनिक शौचालयको अनुपात जर्मनीमा सबभन्दा राम्रो बनेको छ ।
द नाइस् ट्वाइलेट स्कीमले आफू नजिकै कहाँ शौचालय छ, भन्ने जानकारी दिने मोबाइल एप पनि बनाएको छ । त्यही एप मार्फत शौचालय पत्ता लगाएर सेवा लिने गर्छन् ।
यो स्कीमले अहिले प्रतिबर्ष ४,५०,००० यूरो शौचालय मर्मत तथा सञ्चालन खर्च जोगाएको जर्मनका अधिकारीले बताएका छन् ।
यो योजनाबाट केही खुसी भएपनि कोही भने बेखुसी भएका छन् । ‘जत्ति दुःख पाइन्छ त्यसको तुलनामा पाउने शुल्क अति नै न्यून छ, जङ्कीहरु र रक्सीले मातेकाहरु आएर शौचालय प्रयोग गर्छन्, फोहोर धेरै गर्छन्, भुँइमा फ्याँकिएका सुई पनि हामी बेलाबखत पाउँछौं, हामीले पाउने पैसाले खर्च धान्नै गाह्रो हुन्छ’ ब्रेमेनका एक क्याफे सञ्चालकले भने । यो योजना महिला, केटाकेटी, बूढाबूढी र अपाङगहरु बीच अत्यन्तै लोकप्रिय बनेको छ ।
द नाइस् ट्वाइलेट स्कीम अहिले जर्मनीका २४० शहर र स्वीटजरल्याण्डमा पनि सञ्चालनमा आउन थालेको छ ।
BBC को सहयोगमा ।