काठमाडौ, लिखिता बराल : सन् २०१७ भित्रै सबै नागरिकलाई आधारभूत तहको खानेपानी र सरसफाइ सुविधा पु-याउने सरकारी लक्ष्य भएपनि नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आगामी ५ बर्ष भित्र मात्र खानेपानी उपलब्ध गराउने जनाएको छ । मंगलबार बाम गठबन्धनले सार्वजनिक गरेको संयुक्त घोषणा पत्रमा आगामी ५ बर्षभित्र पर्याप्त स्वच्छ पिउने पानीको सुनिश्चितता हुने गरी आवश्यक पूर्वाधारको विकास गरिने उल्लेख छ ।
बाम घोषणापत्रमा सामुदायिक विद्यालयमा अन्य सुविधाका साथै खानेपानीको सुविधा उपलब्ध गराउने र खानेपानी पाइप लगायत सबै भूमिगत हुने उल्लेख गरिएको छ । घोषणापत्रमा सरसफाइ, स्वच्छता र वातावरणीय क्षेत्रले पनि प्राथमिकता पाएको छ ।
घोषणपत्रमा समेटिएको सरसफाइको विषय
- फोहोर प्रशोधनबाट विद्युत उत्पादन गरिने
- सामुदायिक विद्यालयमा नियमित सरसफाइको प्रबन्ध मिलाइने
- प्रत्येक घरमा अनिवार्य शौचालयको व्यवस्था गरिने
- नदी, खोला, पोखरी, ताल तलैया, धार्मिक स्थल, खानेपानीको मुहान, खुला क्षेत्र, सडक, टोल वा अन्य सार्वजनिक स्थलहरुमा सफाइ गरिने
- सार्वजनिक स्थलमा सुविधायुक्त सार्वजनिक शौचालय निःशुल्क सञ्चालन गरिने
- जैविक उर्जा र प्राङ्गारिक मल उत्पादनका माध्यमबाट फोहोरलाई दिगो व्यवस्थापन गरिने
- मापदण्ड विपरितका प्लाष्टिक झोला र वातावरणमा प्रतिकुल असर पार्ने सामग्रीको प्रयोगलाई निषेध गरिने
- ढलको समुचित व्यवस्थापन गर्नुका साथै शहरमा उत्पादित जैविक फोहोरबाट विद्युत र प्राङ्गारिक मल उत्पादन गरिने
- वागमती उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री ऐतिहासिक सम्पदा शहरका रुपमा विकास गरिने
- वागमती, विष्णुमती, मनोहरा र हनुमन्ते नदी र खोलाहरु सफा गरिनेछ
- राजधानीलाई फोहोर, धुलो, हिलो र प्रदुषणमुक्त गरिने
- राजधानीका नदी र तालमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाइने