सर्लाही : ‘जो अगुवा, उही बाटो हगुवा ’ नेतृत्व गर्ने व्यक्तिले बाटो विराएको हकमा प्रयोग हुने यो उखान सर्लाहीमा भने यथार्थमै परिणत भएको छ । विहीबार अरु सर्वसाधारण सँगै बसबरिया गाउँपालिका ६ का संघीय समाजवादी फोरमका नेता नेमीचन राय पनि .खुला दिसा गरिरहेको भेटिएपछि यो उखानमा मात्र सीमित नरही यथार्थमै परिणत भएको हो ।
फोरम नेता राय सँगै अन्य १४ जनालाई पनि पक्राउ गरिएको र उनीहरुलाई सात दिनभित्र चर्पी बनाउने शर्तमा छाडिएको इलाका प्रहरी कार्यालय हिरापुरका प्रहरी नायब निरीक्षक सन्जय शर्माले जानकारी दिनुभयो ।
नेमीचन रायकी श्रीमतीले गत असारमा सम्पन्न स्थानीय तहको चुनावमा सर्लाहीको बसबरिया गाउँपालिकाको उपाध्यक्षमा संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिनुभएको थियो ।
बसबरियामा सरसफाइ अभियान अन्तर्गत तालिम, सडक नाटक तथा अन्य सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा पनि चर्पी बनाउने काममा उल्लेख्य प्रगति नभएपछि हिरापुर इलाका प्रहरी कार्यालय, वाग्मती सेवा समाज र वार्ड वास सीसीका पदाधिकारीले हरेक विहान संयुक्त रुपमा अनुगमन गर्दै आएको छ ।
अनुगमनका क्रममा खुला ठाउँमा दिसा गरिरहेको भेटिएमा पक्राउ गरी चर्पी बनाउने शर्तमा छाड्ने गरेको इलाका प्रहरी कार्यालय हिरापुरका प्रहरी नायब निरीक्षक सन्जय शर्माले जानकारी दिनुभयो ।